• २०८१ बैशाख १६ आइतबार

मनाङको विकास निर्माणमा प्रदेशको चासो

kharibot

मनाङ ।  हिमाली जिल्ला मनाङको विकास निर्माणमा गण्डकी प्रदेशले चासो दिएको छ ।

मनाङको विकास निर्माणका लागि विभिन्न योजनालाई प्राथमिकतामा राखी आर्थिक वर्ष २०८०÷८१ को वार्षिक विकास कार्यक्रमअन्तर्गतका योजना निर्माणलाई बजेट विनियोजन गरिएको छ । 

प्रदेश सरकारबाट ‘तालदेखि कार्ते, धारापानीसम्मको पदमार्ग चामे गाउँपालिका–२ मनाङ’ आयोजनालाई बजेट प्राप्त भएको गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले जानकारी दिए । ‘ताल, खोत्रो हुँदै धारापानी पर्यटकीय वैकल्पिक पदमार्ग निर्माणका लागि बजेट विनियोजन भएको उनले बताए ।

मन्त्रिपरिषद् बैठकबाट संशोधनसहित समायोजन गरी उक्त पदमार्ग निर्माणलाई अगाडि बढाइएको सांसद गुरुङले बताए । उनका अनुसार वैकल्पिक पदमार्ग नासों गाउँपालिका–१, २ र ३ नम्बरमा पर्दछन् । पदमार्गका लागि रु ३० लाख विनियोजन भएको छ ।

उनले भने, “बजेट विनियोजन भएसँगै मनाङको विकास निर्माणको काम हुने समय भएकाले कामको सुरुआत गर्न निर्देशन भइसकेको छ । मन्त्रालयमा प्रक्रिया अघि बढ्छ । यता कामको सुरुआत पनि हुन्छ ।”

विसं २०७८ जेठ १४ र असार १ मा बाढीले हिमाली जिल्ला मनाङको तातोपानी कुण्ड बगायो । चामे गाउँपालिका–५ चामे तातोपानी कुण्ड बाढीले बगाएपछि संरचना नै भत्किएको छ । विनाशकारी बाढीले भत्किएका संरचना निर्माणका लागि गण्डकी प्रदेश सरकारले चासो दिएको छ । 

गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट कुण्डको मर्मतसम्भारका लागि आर्थिक वर्ष २०८०÷८१ को वार्षिक विकास कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरिएको हो ।

प्रदेश सरकारबाट चामे तातोपानी कुण्ड मर्मतसम्भारका लागि रु १५ लाख विनियोजन भएको गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ गुरुङले जानकारी दिए । कुण्ड नहुँदा यहाँका स्थानीय तातोपानीकै खोजीमा जानुपर्ने बाध्यता हटाउन कुण्डका लागि बजेट विनियोजन गरिएको उनले बताए । 

उनले भने, “मनाङ आएर चिसो लागेको खण्डमा यही तातोपानी कुण्डमा नुहाउँदा निको हुने गरेको पाइन्थ्यो । यसको संरक्षण गर्नुपर्छ भनेर प्रदेश सरकारबाट बजेट प्राप्त भएको छ । 

तातोपानी प्राकृतिक चिकित्सा क्षेत्र हो ।” कतिपय मानिस यहाँको तातोपानीमा नुहाउनकै लागि मात्रै पनि मनाङ आउने गरेका थिए । 

तर, पानीको कुण्ड मस्र्याङ्दी नदीमा आएको बाढीले बगाएपछि तातोपानीमा नुहाउन आउने सेवाग्राही तथा पर्यटक आगमन कम भएको स्थानीयको भनाइ छ । 

उक्त कुण्डको संरक्षण गर्नुपर्ने स्थानीयवासीको माग रहँदै आएको छ । हिमाली क्षेत्रको चिसोमा तातोपानी उपयोग गरेमा स्वस्थ हुने सेवाग्राही बताउँछन् । 

तातोपानीले नुहाउँदा शरीरमा हुने विभिन्न किसिमका रोगको नियन्त्रण तथा निको हुने विश्वास गरिन्छ । त्यस्तै नासों गाउँपालिका–८ ताचै गाउँ घट्टेखोला र मस्र्याङ्दी नदीको कटानले बस्ती जोखिममा छ । जोखिम बस्ती संरक्षणको माग ताचैका स्थानीयवासीको छ ।

स्थानीयवासीको माग प्रदेश सरकारले सुनुवाइ गर्दै ताचै बस्ती संरक्षणका लागि रु १५ लाख विनियोजन गरेको छ । ताचैको बस्ती संरक्षणमा प्रदेश सरकारले चासो दिएकामा स्थानीय हर्षित भएका यज्ञ घलेले बताए । 

यहाँको बस्ती बाढी र पहिराले जोखिम रहेको छ । पूर्वाधार विकास कार्यालय मनाङका प्रमुख जय विष्टले प्रदेशमार्फत बजेटको व्यवस्थापन भएअनुसार नै मनाङको विकासको काम गर्ने समय भएकाले काम थालिने बताए ।

मनाङमा चिसो कम हुँदै गएकाले विकास निर्माणको कामले गति लिने उनले बताए । हिउँदको समयमा यहाँ बढी चिसो र हिउँ पर्ने हुँदा सिमेन्टजन्य विकास निर्माणको काम रोकिन्छ । 

चैत लागेसँगै चिसो छल्न बेँसी झरेका यहाँका स्थानीय गाउँ फर्किने र विकासका काम पनि अघि बढ्छ ।
 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै