काठमाडौँ । सरकारले रुसी सेनमा भर्ति भएका थप सात जनाको मृत्यु भएको जानकारी गराएको छ ।
परराष्ट्र मन्त्रालयले रुसी सेनामा अवैध तरिकाले भर्ना भएका नेपालीहरुले फिर्ता गर्ने प्रयास जारी रहेका बेला थप सात जनाले ज्यान गुमाएको जानकारी गराएको हो ।
ज्यान गुमाउनेमा धादिङका पूर्ण बहादुर गुरुङ्ग, जाजरकोटका नविन शाही, उदयपुरका पदम बहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जित बहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तान रहेको मन्त्रालयले बताएको छ ।
साथै परम्परागत रूपमा रहेको सम्झौता अन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको मन्त्रालयले स्पष्ट गरेको छ ।
त्यसैगरी रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुलाई नेपाल फिर्ता गराउन नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको मन्त्रालयले बताएको छ । मन्त्रालयले रुसी सेनामा ज्यान गुमाएका नेपालीहरुको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुन: अनुरोध गरेको छ ।
अहिलेसम्म रुसी सेनामा कति नेपाली पुगेका छन् र कति जनाको मृत्यु भयो भन्ने एकिन जानकारी आउन सकेको छैन ।