• २०८१ बैशाख १६ आइतबार

सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष महरालाई मुद्धा चलाउन सिफारिस

kharibot

काठमाडौं । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । गृह स्रोतका अनुसार, पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो ।

आयोगले महरासँग बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि अहिले थुनामा छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार प्रतिवेदन बुझ्दै यसमा समावेश विषयहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आज प्रतिवेदन प्रधानमन्त्रीलाई समेत बुझाएका छन् ।

विहिबार आयोगले प्रतिवेदन बुझाए लगत्तै उनले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटघाट गरेका थिए भने त्यसपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेट गरेका थिए ।

गृहमन्त्री लामिछानेले प्रतिवेदन आजै पुरै पढेपछि आफ्नो सक्रियता बढाएका हुन् । उनले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई साथमा लिएर प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग छलफल गरेका थिए ।

प्रतिवेदन बुझ्दै लामिछानेले सुन तस्करी प्रकरणको दोषी जोसुकै भए पनि कानुनी कारबाही गरिने बताएका थिए । छानबिन समितिको प्रतिवेदनअनुसार दोषीहरुलाई कारबाहीको दायरामा ल्याउने उनले बताएका थिए । 

सुन तस्करीमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क भएका कर्मचारी र प्रहरीबारेको डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट आयोगले अध्ययन गरेको थियो । सुन तस्करी प्रकरणमा सीआईबीले कागज गराएर छाडेका २१ जनालाई आयोगले बयान गराएको थियो ।

आयोगले गठन भएको साढे ५ महिनामा आयोगका अध्यक्ष डिल्लीराज आचार्यले विहिबार बिहान सिंहदरबारमा लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

गत साउनमा हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुनबारे सो आयोगले अनुसन्धान गरेको थियो। मन्त्रिपरिषद्ले असोज १४ मा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेपछि आयोगको समय दुई पटक थपिएको थियो । सुन तस्करीमा माओवादीका शीर्ष नेताहरु नै संलग्न रहेको समाचार बाहिर आइसकेको छ।

आयोगको सदस्यमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय