• २०८१ बैशाख १५ शनिबार

मन्त्रिपरिषद्‍को आकस्मिक बैठक बस्दै

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्‍को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।  बैठक आज अपराह्न ५ बजे बस्ने गरि बोलाइएको छ । 

आज बिहान मात्र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका थिए । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले कसैको प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीलाई निर्देशन दिएका थिए । 

प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श गरिरहेको बताइएको छ ।

आयोगले बिहीबार गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख किरण बज्राचार्य र अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहितलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । साथै आयोगले पूर्वगृहमन्त्री तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारी र पूर्वप्रहरी महानिरीक्षक तथा एमाले नेता सर्वेन्द्र खनाललाई उन्मुक्ति दिएकामा एआईजी बज्राचार्यमाथि कारबाही सिफारिस भएको हो । 

विहिबार आयोगले प्रतिवेदन बुझाए लगत्तै उनले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटघाट गरेका थिए भने त्यसपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेट गरेका थिए ।

गृहमन्त्री लामिछानेले प्रतिवेदन आजै पुरै पढेपछि आफ्नो सक्रियता बढाएका हुन् । उनले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई साथमा लिएर प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग छलफल गरेका थिए । प्रतिवेदन बुझ्दै लामिछानेले सुन तस्करी प्रकरणको दोषी जोसुकै भए पनि कानुनी कारबाही गरिने बताएका थिए । छानबिन समितिको प्रतिवेदनअनुसार दोषीहरुलाई कारबाहीको दायरामा ल्याउने उनले बताएका थिए । 

सुन तस्करीमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क भएका कर्मचारी र प्रहरीबारेको डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट आयोगले अध्ययन गरेको थियो । सुन तस्करी प्रकरणमा सीआईबीले कागज गराएर छाडेका २१ जनालाई आयोगले बयान गराएको थियो ।

गत साउनमा हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुनबारे सो आयोगले अनुसन्धान गरेको थियो। मन्त्रिपरिषद्ले असोज १४ मा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेपछि आयोगको समय दुई पटक थपिएको थियो । सुन तस्करीमा माओवादीका शीर्ष नेताहरु नै संलग्न रहेको समाचार बाहिर आइसकेको छ।

आयोगको सदस्यमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै