• २०८१ बैशाख १५ शनिबार

अमेरिकी स्टिल कम्पनी निप्पोनलाई बिक्री गर्ने पक्षमा छैन- बाइडेन

kharibot

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी स्टील कम्पनीलाई जापानको निप्पोन स्टिललाई बिक्री गर्ने प्रस्तावको विपक्षमा आफू रहेको बताएका छन् । 

जापानका प्रधानमन्त्री फुमियो किशिदालाई ह्वाइट हाउसको राजकीय भ्रमणका लागि स्वागत गर्नुभन्दा एक महिना पहिले राष्ट्रपति बाइडेनले १४ अर्ब १० करोड अमेरिकी डलरको अधिग्रहणसम्बन्धी प्रस्तावमा विमती रहेको बताएका हुन् । 

यसको अर्थ राष्ट्रपति बाइडेनको नजर नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पविरुद्ध केन्द्रित देखिएको छ । दुवै पार्टीका सांसदहरूले एक विदेशी मालिकलाई विशाल अमेरिकी उत्पादन कम्पनी बिक्री गर्ने योजनाको विरोधमा युनियनहरूसँग मिलेर काम गरेका छन् ।

युएस स्टिल कम्पनी पेन्सिलभेनिया राज्यको पिट्सबर्गमा अवस्थित छ । उक्त राज्यमा राष्ट्रपति बाइडेनले सन् २०२० को निर्वाचनमा ट्रम्पमाथि विजय गरेका थिए ।  यस वर्ष फेरि बाइडेनको ट्रम्पसँग प्रतिस्पर्धा हुने करिबकरिब निश्चित भएको छ ।  

राष्ट्रपति बाइडेनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “हामीले अमेरिकी स्टिल कम्पनीहरूलाई जोगाउनुपर्छ । मैले हाम्रा स्टिल कर्मीहरूलाई भनेको थिएँ यसमा मेरो सहयोग रहनेछ ।” उनले भनेका छन्, “यूएस स्टील एक शताब्दीभन्दा बढी समयदेखि एक प्रतिष्ठित अमेरिकी कम्पनीका रूपमा काम गर्दै आएको कम्पनी हो र अमेरिकाका लागि यो कम्पनी रहनु महत्वपूर्ण छ ।” 

तर बाइडेनले डिसेम्बरमा घोषणा भएदेखि नै यसले राष्ट्रिय सुरक्षा हितलाई कसरी असर गर्छ भन्ने संघीय समीक्षाको अधीनमा रहेको यो सम्झौतालाई आफूले अवरोध गर्ने स्पष्ट रूपमा बताएका छैनन् । 

जापानी सरकारका प्रवक्ता योशिमासा हयाशीले शुक्रबार टोकियोलाई बाइडेनको बयानबारे जानकारी भए पनि व्यक्तिगत कम्पनीको व्यवस्थापनको विषयमा टिप्पणी गर्न अस्वीकार गरेको बताएका छन् ।  उनले भने, “जापान–अमेरिका गठबन्धन पहिलेभन्दा बलियो छ र राष्ट्रहरूले ‘नियममा आधारित स्वतन्त्र र खुला आर्थिक व्यवस्थाको रखरखाव र सुदृढीकरण’ लगायत धेरै क्षेत्रमा सहयोग जारी राख्नेछन् ।”

निप्पोन स्टिल र युएस स्टिलले एक संयुक्त वक्तव्य जारी गर्दै उनीहरूको साझेदारीले ‘जापान र संयुक्त राज्य अमेरिकाबीचको घनिष्ठ गठबन्धन“ प्रतिबिम्बित गरेको बताएका छन् । “हामी लेनदेनको प्रशासनको जाँचको स्वागत गर्दछौं । यो लेनदेनको वस्तुनिष्ठ र व्यापक समीक्षाले यसले अमेरिकी रोजगारी, प्रतिस्पर्धा र आर्थिक र राष्ट्रिय सुरक्षालाई बलियो बनाउँछ भन्ने देखाउँछ,” वक्तव्यमा भनिएको छ । 

निप्पोन स्टिलले एक छुट्टै विज्ञप्ति जारी गर्दै भनेको छ, “यो सम्झौताले अमेरिकी स्टील, युनियन कामदार र समग्र अमेरिकी स्टिल उद्योगलाई स्पष्ट लाभ प्रदान गर्दछ ।”

यूएस स्टीलको शेयर शुक्रवार ६.४ प्रतिशतले घटेको छ भने शुक्रवारको निप्पोन स्टीलको शेयर ०.११ प्रतिशतले घटेको छ । प्रस्तावित बिक्री संयुक्त राज्य अमेरिकामा एक राजनीतिक हतियार बनेको छ ।

गत फेब्रुअरीमा ट्रम्पले आफूले ह्वाइट हाउसमा दोस्रो कार्यकाल जितेमा उक्त ‘भयानक’ सम्झौता रोक्ने बताएका थिए ।  बाइडेनको चुनावी घोषणापत्रमा अमेरिकी उत्पादनको पुनः निर्माण गर्ने प्रतिबद्धताको केन्द्रमा पनि यो सम्झौता उल्लेख गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै