• २०८१ बैशाख १७ सोमबार

अर्थतन्त्र शिथिल छ, तर सङ्कटमा छैन- अर्थमन्त्री पुन

kharibot

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र केही शिथिल देखिएको भए पनि सङ्कटको अवस्थामा भने नपुगेको बताएका छन् । नागरिक लगानी कोषको ३४औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले अर्थतन्त्र सङ्कट बाहिर रहेको दाबी गरे ।

नेपालको बाह्य क्षेत्रमा निकै सुधार देखिएको अर्थमन्त्री पुनको भनाइ छ । यद्यपि सार्वजनिक वित्तको क्षेत्रमा भने केही संरचनागत समस्या अझै बाँकी  रहेको उनले स्वीकारे । मुलुकको अर्थतन्त्र धराशायी भएको भनेर नकारात्मक प्रचार बढी हुँदा बजारमा त्यसको असर देखिएको उनको भनाइ छ ।

“एक वर्षभन्दा बढीको वस्तु तथा सेवा आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति हामीसँग छ । विप्रेषण आप्रवाह राम्रो छ । बैंक वित्तीय संस्थामा पर्याप्त तरलता छ । अब विस्तारै लगानी पनि बढ्छ”, अर्थमन्त्री पुनले भने । बाह्य क्षेत्र र खासगरी भुक्तानी सन्तुलन बिग्रिँदा केही समयअघि नेपालको अर्थतन्त्रलाई श्रीलङ्काको जस्तै धराशायी हुन लागेको भनेर आलोचना भइरहेकामा अहिले बाह्य क्षेत्र निकै मजबुद बनेको उनले बताए । 

“गत वर्ष सात महिनाका लागि मात्रै आयात धान्ने विदेशी मुद्रा सञ्चिति नहुँदा हामी श्रीलङ्का जस्तै हुन्छौँ भनिएको थियो । सो समयमा पनि सरकारले हामी त्यति खराब अवस्थामा छैनौँ भनेर आस्वस्त पारिरहेको थियो”, अर्थमन्त्री पुनले भने । अर्थतन्त्रका सूचक सकारात्मक भए पनि बजारको मानसिकता अझै सुध्रिन नसकेकामा उनले चिन्ता व्यक्त गरे । 

सकारात्मक सोच र आत्मविश्वास हुने हो भने लगानी बढ्ने र त्यसले अर्थतन्त्र वृद्धिमा सहयोग पुर्याउने अर्थमन्त्री पुनको भनाइ छ । सरकारले यसअघि अवलम्बन गरेका र पूर्वअर्थमन्त्रीले ल्याएका सकारात्मक नीति तथा योजनालाई आफूले पनि निरन्तरता दिने उहाँले विश्वास दिलाए । 

विगतमा अर्थतन्त्रमा देखिएका सङ्कुचनका कारण लिइएका कडा नीतिलाई बिस्तारै खुकुलो बनाउँदै लगिने धारणा अर्थमन्त्री पुनले राखे । यसबारे विषयगत मन्त्रालय र विभिन्न निकायसँग छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय धितोपत्र बजारमा सुधारका सङ्केत देखिएको भन्दै यसले बजार चलायमान गर्न सहयोग पुर्याउने उनको भनाइ छ ।

सेवा प्रवाहमा सहजताका लागि सबै पक्ष र निकाय जवाफदेही हुनुपर्नेमा मन्त्री पुनले जोड दिए । “राजनीतिक नेतृत्वका समस्या छन् । राजनीतिक शुद्धीकरण जरुरी छ भनेर हामी आफैँले पनि ठानेका छौँ । हाम्रा सार्वजनिक निकायमा प्रशासनिक सुधारको आवश्यकता छ”, पुनले भने । 

नागरिक लगानी कोषलाई थप व्यावसायिक बनाउन र कोषमा जम्मा भएको रकमलाई उत्पादनमूलक क्षेत्र, ठूला पूर्वाधार निर्माण र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न पनि मन्त्री पुनले निर्देशन दिए । कोषको रकम उत्पादन, उत्पादकत्व र रोजगारीको अवसर सिर्जना गर्ने क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणका लागि काम गर्न सक्नुपर्ने उनको भनाइ छ ।

कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषले बचत परिचालन गरी राष्ट्रिय पुँजी निर्माणको आधार तय गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कोषले आफ्नो व्यवसाय विस्तार, प्रतिफल योग्य लगानी, जोखिम व्यवस्थापनलगायतका क्षेत्रमा योजनाबद्ध ढङ्गले काम गरिरहेको उनको भनाइ छ । 

लगानीलाई विविधीकरण गर्ने, जोखिम विश्लेषण गर्दै प्रतिफल योग्य क्षेत्रमा लगानी विस्तार गर्ने, राज्यले प्राथमिकतामा राखेका पूर्वाधारका क्षेत्रमा लगानी बढाउने, कोषका कामलाई थप प्रविधिमैत्री बनाउने र सेवा प्रवाहलाई सहज बनाउँदै लैजाने गरी काम गरिरहेको कार्यकारी निर्देशक कार्कीले दाबी गरे । 

वैदेशिक रोजगारीमा रहेका नागरिकलाई कोषका कार्यक्रममा आबद्ध गराउन अध्ययन सुरु भएको कार्कीले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कोषको खुद मौज्दात रू दुई खर्ब ४० अर्ब ५१ करोड रहेको छ भने यो अवधिमा कोषले विभिन्न क्षेत्रमा रु दुई खर्ब ३५ अर्ब पाँच करोड बराबर लगानी गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै