• २०८१ बैशाख १५ शनिबार

मस्को आक्रमणका चार आरोपितमाथि आतङ्कवादको अभियोग

kharibot

मस्को । मस्कोको बासमानी जिल्ला अदालतले मस्कोको कन्सर्ट हलमा भएको नरसंहारमा संलग्न भएको आरोपमा चारै जना संदिग्धलाई आतङ्कवादको अभियोग लगाइएको छ र दोषी ठहर भएमा उनीहरूलाई आजीवन कारावासको सजाय हुनसक्छ । 

अहिले उनीहरूलाई मे २२ सम्मका लागि थुनामा राखिएको छ तर मुद्दाको सुनुवाइको मितिका आधारमा म्याद थप गर्न सकिने अदालतले जनाएको छ । 

उनीहरूलाई आइतबार हिरासतमा लिइएको थियो । अदालतले दुई जना प्रतिवादीले आफ्नो अपराध स्वीकारेको र तीमध्ये एक जना ताजिकिस्तानका नागरिक रहेको र उनले आफ्नो अपराध पूर्णरुपमा स्वीकारेको जनाएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘बर्बर आतङ्कवादी हमला’मा संलग्नलाई दण्डित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शनिबार युक्रेनतर्फ भाग्ने क्रममा चारै जना बन्दुकधारीलाई पक्राउ गरिएको रूसी अधिकारीले बताएका थिए । 

किएभले उक्त आक्रमणमा आफ्नो कुनै पनि प्रकारको संलग्नता नरहेको दाबी गर्दै आएको छ ।

पुटिनले इस्लामिक स्टेट (आइएस) समूहको जिम्मेवारीबारे सार्वजनिक रूपमा कुनै भनाई राख्नुभएको छैन ।  मस्कोको उत्तरी उपनगर क्रास्नोगोर्स्कस्थित क्रोकस सिटी हलमा शुक्रबार साँझ बन्दुकधारीले आक्रमण गरी भवनमा आगजनी गर्दा तीन बालबालिकासहित कम्तीमा १३७ जनाको मृत्यु भएको थियो ।
आइएसले युरोपमा गरेको यो सबैभन्दा घातक आक्रमण हो ।

रूसी अनुसन्धान समितिले मस्कोस्थित आफ्नो मुख्यालयमा चार संदिग्धलाई घिसार्दै लगेको भिडियो सार्वजनिक गरेको छ । आक्रमणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अन्य सात जनाको बारेमा भने केही बताइएको छैन । अधिकारीहरूले बन्दुकधारीहरु सबै विदेशी नागरिक भएको बताएका छन् ।

इस्लामिक स्टेट समूहले शनिबार टेलिग्राममा पोस्ट गरेको एक पोस्टमा ‘चार जना आइएस लडाकुले मेसिनगन, पेस्तोल, चक्कु र फायरबमसहित आक्रमण गरेका’ देख्न सकिन्छ । 

एसआईटीई गुप्तचर समूहका अनुसार बन्दुकधारीले खिचेको करिब डेढ मिनेट लामो भिडियो विभिन्न सामाजिक सञ्जालका अकाउन्टमा पनि पोस्ट गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै