• २०८१ बैशाख २३ आइतबार

अस्तव्यस्त मार्तडी बजार

kharibot

बाजुरा।  जिल्ला सदरमुकाम मार्तडी बजार क्षेत्रमा मानिस हिँड्ने तथा सवारी सञ्चालन हुने सडकको उचित व्यवस्थापन नहुँदा बजार अस्तव्यस्त बनेको छ ।

बडीमालिका नगरपालिकाको मार्तडीमा सडक कब्जा गरी राखिएका गिटी, बालुवा तथा अव्यवस्थित तरिकाले रोकिएका सवारीसाधनको उचित व्यवस्थापन नहुँदा बजर क्षेत्र अस्तव्यस्त बनेको हो ।

सवारीसाधनका लागि बनाएका सडकमा पैदलयात्रुलाई हिँड्न मुस्किल पर्नेगरी स्थानीयले प्रयोग गर्दै आएका छन् । स्थानीय प्रहरी प्रशासन तथा नगरपालिकाले सवारीसाधन तथा निर्माण सामग्री सडकमा नराख्न सूचना जारी गरे पनि कार्यान्वयन हुन सकेको छैन । 

स्थानीय व्यापारी तथा सवारी चालकले जथाभाबी सडकमा सवारीसाधन पार्किङ गर्दा नगरपालिकाले प्रभावकारी कदम चाल्न नसकेको स्थानीय लक्ष्मण रोकायाले बताए । “यसरी जथाभाबी सडकमा पार्किङ गर्ने, बालुवा गिटी थुर्पादा पनि नगरपालिकाले दर्शक बनेर बसेको छ”, उनले भने ।

नौवटै पालिकाको प्रमुख बजारका रुपमा मार्तडीलाई लिइन्छ । जिल्ला बाहिरबाट आउनेहरुले पनि समग्र जिल्लाको अवस्था यही बजारलाई हेरेर बुझ्ने भएको नगरपालिकाले बजार क्षेत्रमा पार्किङ तथा पसललगायतलाई उचित व्यवस्थापन गर्नुपर्नेमा रोकायाले जोड दिए । “साझा सरोकार भएका विषयमा नगरपालिका तथा स्थानीय जनप्रतिनिधिले चासो दिनुपर्नेमा निरीह भएर बसेका छन्”, उनले भने ।

प्रहरी प्रशासन लगाएर भए पनि मार्तडीको सुन्दरता, व्यवस्थापन र सडक पार्किङको समस्या समाधान गर्नुपर्ने पैदल यात्री बताउँछन् । सडकहरुमा स्थानीयहरुले घर बनाउनका लागि गिटी, बालुवा र अन्य सामग्री फाल्नुका साथै पसल तथा घरबाट निस्किएको फोहरले बजार थप दुर्गन्धित बनेको उनीहरुको भनाइ छ ।

यसरी सडकमा फालिएका निर्माण सामग्रीका कारण सवारीसाधन र स्थानीयलाई आवतजावतमा सास्ती बेहोर्नु परेको स्थानीय रोकायाले बताए ।

मार्तडीको दुनीहाटबजारबाट खुलामञ्च–अस्पताल रोड–खेलकुद रोड हुँदै गौँडाडिलसम्म पुग्ने सडक अस्तव्यस्त रहेको उनको भनाइ छ ।

नगरपालिकाले सडकमा जथाभाबी फालिएका भौतिक सामग्री व्यवस्थापनमा चासो नदिँदा दुर्घटनाको जोखिम बढेको यातायात व्यवसायी बताउँछन् । स्थानीय सरकारले जनताको दैनिकीसँग जोडिएका विषयमा चासो नदिएको व्यवसायीको भनाइ छ ।

बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापाले सडक छेउछाउमा जथाभाबी राखिएका गिटी, बालुवा तथा निर्माण सामग्री हटाउन पालिकाले तत्काल सूचना जारी गर्ने बताए । 

सडक व्यवस्थित गराउन पालिकाले पटकपटक सूचना जारी गर्दै निर्माण सामग्री हटाउन पहल गर्दै आए पनि स्थानीयले सूचनाको बेवास्ता गर्दै आएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले दाबी गरे । 

अस्तव्यस्त निर्माण सामग्री, अव्यवस्थित सवारी पार्किङ र बढ्दो फोहरमैलाले मार्तडी बजारको सुन्दरता हराउँदै गएको छ भने दुर्घटनाको जोखिम पनि बढिरहेको छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै