• २०८१ जेठ २ बुधबार

मस्कको टेस्लालाई चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त हुदै

kharibot

बेइजिङ । आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क सुरक्षा मञ्जुरी प्राप्त भएपछि अर्बपति एवं टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क बेइजिङबाट प्रस्थान गरेका छन् । 

एक वर्षभन्दा पनि कम समयमा आफ्नो दोस्रो चीन भ्रमणका क्रममा आइतबार मस्क बेइजिङ पुगेका थिए  । विश्वको सबैभन्दा ठूलो विद्युतीय कार बजार चीनमा आफ्नो कम्पनीको भाग्य बढाउनका लागि काम गर्न उनले प्रधानमन्त्री ली कियाङसहित शीर्ष अधिकारीहरूसँग भेट गरेका थिए । 

सोही दिन चीनको तथ्याङ्क सुरक्षा आवश्यकतारू पूरा गर्ने टेस्लाको स्थानीयरूपमा उत्पादित मोडेलहरू विद्युतीय सवारीहरूमा सूचीबद्ध भएका छन् । 

ब्लुमबर्गका अनुसार अमेरिकी विद्युतीय कार कम्पनी टेस्ला नक्सा र नेभिगेसन सुविधाहरूका लागि टेक टाइटन बाइडुसँग मिलेर चीनमा आफ्नो सहायक ड्राइभिङ प्रविधिको उपयोग गर्नका लागि सरकारको स्वीकृति नजिक पुगेको छ । 

बिवाइडीजस्ता घरेलु कम्पनीहरूसँग तीव्र प्रतिस्पर्धा गरे पनि टेस्ला चीनमा सबैभन्दा धेरै बिक्री हुने विद्युतीय सवारीमध्ये एक बनेको छ । यद्यपि उसले कडा तथ्याङ्क र गोपनीय कानूनको पालना गर्न आवश्यक ‘फुल सेल्फ ड्राइभिङ (एफएसडी)’ जस्ता सुविधाहरूका साथ आफ्नो बिक्रीलाई बढाउन कोसिस गरिरहेको छ ।  

चाइना एसोसिएसन अफ अटोमोबाइल्स मेनुफेक्चरर्स (सिएएएम) ले सन् २०२३ नोभेम्बरदेखि राष्ट्रिय कम्प्युटर सुरक्षा नियामकसँग मिलेर सवारी साधनको व्यक्तिगत जानकारी र कारको बाहिरी मुखाकृतिको रेकर्डिङलगायत कसरी तथ्याङ्क सङ्कलन र प्रशोधन गर्ने भन्नेबारे परीक्षण गरेको बताएको छ । 

“तीमध्ये छ कम्पनी (बिवाइडी, ली अटो, लोटस, होजोन अटो, टेस्ला र एनआइओ) का ७६ मोडलले अटोमोटिभ तथ्याङ्क सुरक्षाका चार अनुपालन आवश्यकताहरू पूरा गर्दछन्”, सिएएएमले विज्ञप्तिमा भनेको छ ।     

साङ्घाईको विशाल कारखानामा निर्मित टेस्लाको मोडल३ र मोडल वाइ सूचीमा थियो । कम्पनीको उन्नत सहायक ड्राइभिङ सुविधाले उसका कारहरूलाई पूर्णरूपमा स्वायत्त बनाउँदैन र टेस्लाले उसको अटोपाइलट र एफएसडी क्षमताहरूको प्रयोग ड्राइभरको सुपरीवेक्षणमा प्रयोग गर्नका लागि भएको बताएको छ । कम्पनीले एफएसडी अमेरिकामा आठ हजार डरल वा मासिक ९९ डलरको सदस्यतामा बिक्री गर्दछ । 

चीनमा एफएसडी र बाइडुसँग कथित साझेदारीका बारेमा एएफपीले गरेको प्रश्नमा टेस्लाले तत्काल जवाफ दिएको छैन । यसै महिनाको प्रारम्भमा आफ्नो सामाजिक सञ्जाल एक्समा एक प्रश्नको जवाफमा मस्कले चीनमा एफएसडीको उपलब्धता ‘चाँडै नै सम्भव हुनसक्ने’ बताएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै