काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरेर आज स्वदेश फर्किदै छन् ।
नेपाली टोली बिहान साढे १० बजे त्रिभुवन विमानस्थल आइपुग्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा काठमाडौंसम्म रेल ल्याउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई देशबीच गएको विहीबार रेलमार्गसहित विभिन्न १४ विषयमा सम्झौता र सहकार्यका लागि पत्र आदानप्रदान भएको हो । सरकारले चीन भ्रमण निकै सफल र उपलब्धिमूलक भएको बताएको छ ।
प्रधानमन्त्री ओली शनिबार नेपाली महावाणिज्यदूतावास ल्हासाले आयोजना गरेको रात्रिभोजमा सरिक भएका थिए । नेपाली टोलीले क्यूशी काउन्टीमा रहेको ‘चाइना नेशनल मोर्डन एग्रिकल्चर पाइलट जोन’को अवलोकन गरेको थियो । नेपाली प्रतिनिधिमण्डलले हिजै पोताला दरबार र जोखान मन्दिरको पनि भ्रमण गरेको थियो ।