काठमाडौँ । पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ । आइतबार उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा यस बारे जानकारी दिइएको हो ।
८२ वर्षीय बाइडेन गत हप्ता पिसाबसँग सम्बन्धित समस्या आएपछि परिक्षण गराउदा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो । यो क्यान्सर उनको हड्डीसम्म फैलिएको बताइएको छ ।
उनको रोगलाई 'उच्च श्रेणीको' क्यान्सरको रूपमा वर्गीकृत गरिएको छ । क्यान्सर विज्ञहरुले यसको अर्थ क्यान्सर कोषहरू द्रुत गतिमा फैलिन सक्ने भन्ने बुझिने बताएका छन् ।
बाइडेन र उनको परिवारले यो क्यान्सरको उपचार विकल्पहरूको समीक्षा गरिरहेका छन् । पूर्व राष्ट्रपतिको कार्यालयले क्यान्सर हर्मोन-संवेदनशील भएको बताएको छ , जसको अर्थ यसलाई व्यवस्थापन गर्न सकिन्छ।
बाइडेनको क्यान्सरको खबर बाहिरिएपछि, राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा लेखे, 'जो बाइडेनको हालैको चिकित्सा समस्याको बारेमा सुनेर मेलानिया र म दुःखी छौं ।'
ट्रम्पले बाइडेनको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।









