• २०८१ बैशाख १६ आइतबार

यस बर्षको जी सिने अवार्ड काठमाडौँमा हुने, जी इन्टरटेनमेन्टका अध्यक्ष सुवास चन्द्राको घोषणा 

kharibot

काठमाडौँ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेपालमा फिल्म सिटी स्थापना गर्न तत्पर भारतीय कलाकार र लगानीकर्तालाई धन्यवाद दिएका छन् । 

शनिबार साँझ आफूलाई भेट्न आएका एस्सेल ग्रुपका प्रमूख तथा जी इन्टरटेनमेन्ट इन्टरप्राइज लि.का अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिक व्यक्तित्व अमर सिंह तथा वरिष्ठ सिने कलाकार जया प्रदालाई प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गरेका हुन् । 

भेटअघि भारतीय समुह फिल्मसिटी निर्माणको लागि गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरी फर्किएको थियो । अध्ययनपछि जी इन्टरटेनमेन्ट इन्टरप्राइज लि.का अध्यक्ष सुवास चन्द्राले पालुङटारको नदीदेखि पहाडसम्मको सुन्दर परिवेशको आफुलाई आकर्षित गरेको बताए । उनले ती ठाउँका प्रशंसा गर्दै नेपालमा फिल्म सिटीको स्थापना गर्नका लागि प्रारम्भिक कार्य सुरु भइसकेको बताए । 

चन्द्राले आउँदो नोभेम्वर–डिसेम्वरमा जी सिने अवार्ड समारोहको आयोजना काठमाण्डौमै गर्ने र हरेक वर्ष नेपाली फिल्मका लागि समेत एक अवार्डको व्यवस्था गरिने घोषणासमेत गरेका छन् ।

भेटघाटका अवसरमा प्रधानमन्त्रीले जी सिने अर्वाड समारोहकै अघिपछिको मिति पारेर काठमाण्डौमा हिमालयन कनक्लेभको समेत आयोजना गरिने घोषणा गरे । 

नेपाली कलाकारहरुसमेतको उपस्थितिमा भएको भेटघाटका अवसरमा प्रधानमन्त्रीले जया प्रदाले नेपाल भारत सम्बन्धका लागि साँस्कृतिक राजदूतको भूमिका निर्वाह गर्दै आएको बताइन । त्यस अवसरमा वरिष्ठ भारतीय राजनीतिकर्मी तथा राज्य सभा सदस्य अमर सिंहले प्रधानमन्त्री ओलीको समृध्द नेपाल, सुखी नेपालीको ध्येयलाई मूर्त तुल्याउन सकिएको खण्डमा मात्र भारत पनि सुखी र खुसी हुन सक्ने धारणा व्यक्त गरे । 

भेटघाटका अवसरमा नेपालका वरिष्ठ सिने कलाकार नीर शाहले नेपाली फिल्म उधोगको समग्र अवस्थाको जानकारी प्रस्तुत गर्दै भारतमा नेपाली भाषीहरुको ठूलो जनसंख्या रहे पनि विभिन्न कारणले गर्दा नेपाली फिल्महरुको प्रदर्शन हुन नसकिरहेको बताए । 

भेटघाट कार्यक्रममा चन्द्राले सोलुखुम्वूमा आफूले निर्माण गरेको १४० मेघावाट क्षमताको जलविधुत आयोजना बाँकी रहेको चालीस प्रतिशत काम सम्पन्न भएपछि प्रधानमन्त्री ओलीमार्फत नेपाललाई हस्तान्तरण गर्ने घोषणा समेत गरे । यसैगरी चन्द्राले आफ्नो तर्फबाट पशुपति मन्दिर परिसरमा सिसी क्यामेरा र सौर्य बत्ती जडान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

भारतीय टोलीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेट वार्तामा नेपाल सरकारका पर्यटन मन्त्री रबिन्द्र अधिकारी, नेपाली फिल्म क्षेत्रको प्रतिनिधित्व गर्दै वरिष्ठ कलाकारहरू निर शाह, शिव श्रेष्ठ, भुवन केसी, निखिल उप्रेती, झरना थापा, संचिता लुइँटेल, प्रदेश सभा सदश्य तथा गायिका कोमल ओली, गीतकार सम्भुजित बास्कोटा, निर्माता केशव भट्टराई, निर्देशक दिनेश डि सि लगायतको उपस्थिति रहेको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै