नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्तरगत दाउन्ने क्षेत्रमा सहज यातायात सञ्चालनका सम्बन्धमा निमार्ण पक्ष सहितको समन्वयात्मक बैठक बसेको छ ।
सोमबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार निर्माण पक्षलाई तत्काल सडक मर्मत गर्दै दाउन्ने क्षेत्रमा निर्माणको कामलाई तदारुकता दिन निर्देशक दिइएको छ ।
विनयी त्रिवेणी गाउँपालिकामा भएको छलफलमा यस अघि गरिएका सहमति र निर्णयको कार्यान्वयनका साथै समयमै सडक निर्माण कार्य गर्न निर्देशन दिइएको हो ।
बैठकमा विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरी, प्रहरी उपरीक्षक युवराज खड्का, उपाध्यक्ष भगवती वैदवार क्षेत्री, सशस्त्र प्रहरी नायव उपरीक्षक लक्ष्मण बराल, नारायणगढ बुटवल सडक आयोजनाका इन्जिनियर शिव खनाल, सहित निर्माण पक्षका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
केहिदिनको वर्षासँगै दाउन्ने सडक अस्तव्यस्त भएको छ भने हजारौं यात्रुले सास्ती भोगेका छन् । बर्षाका कारण हिमाम्मे सडक र सवारी साधन दुर्घटनाका कारण सडक अवरुद्ध हुदा घन्टौं लाइन बस्नुपर्ने बाध्यता रहेको छ । यसैबीच सडक विभागको आयोजना निर्देशनालयले सोमबार सूचना प्रकाशित गर्दै पुस १५ सम्म सडक सहज संचालन नहुने बताएको छ ।









