• २०८१ जेठ २ बुधबार

चिनियाँ एनजीओ नेपाल विधिवत रुपमा भित्रिए  

kharibot

काठमाडौं।  चीनका गैरसरकारी संस्था (एनजीओ) पहिलोपटक नेपाल विधिवत रुपमा भित्रिएका छन्। शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन, स्वरोजगार, सीपमा आधारित तालिम, सामुदायिक विकास लगायत क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित चीनका ३२ वटा एनजीओ विधिवत रुपमा नेपाल भित्रिएका हुन्। 

आइतबार समाज कल्याण परिषद् र चाइना एनजीओ नेटवर्क फर इन्टरनेशनल एक्सचेञ्जबीच (सिएनआई)बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापा र चीनका उप मन्त्री वाङ याजुनको उपस्थितीमा समाज कल्याण परिषदका सदस्य सचिव डिल्ली प्रसाद भट्ट र (सिएनआई)का सदस्य सचिव जु रुईले तीन वर्षे समझदारी पत्रमा हस्ताक्षर गरे। 

हस्ताक्षर समारोहमा बोल्दै चिनियाँ उपमन्त्री वाङ याजुनले चिनियाँ एनजीओको प्रवेशले समृद्ध नेपाल सुखी नेपाली अभियानमा सहयोग पुग्ने धारणा राखे। जनताबीचको आदानप्रदान दुई देशको सम्बन्धका लागि महत्वपूर्ण भन्दै उनले मैत्रीपूर्ण आदानप्रदानले विकासलाई अघि बढाउने बताए। ‘दुई दिनपछि चीन र नेपालको दौत्य सम्बन्ध स्थापनाको ६० औं वर्ष पुग्न लागेको अवसरमा यो कार्यक्रम पनि महत्वपूर्ण छ’, उनले भने। 

महिला तथा बालबालिका मन्त्री थममाया थापाले नेपालका विकास निर्माण र परिवर्तनका लागि सहयोगमार्फत चीनले देखाएको आत्मियताले सम्बन्ध अझै प्रगाढ बनाउन सकारात्मक सन्देश दिएको धारणा राखिन। ‘दुई देशका एनजीओबीच पहिलोपटक भएको समझदारी सकारात्मक सुरुवात हो’, उनले भनिन्, ‘सम्झौता कार्यान्वयनमा सरकार प्रतिबद्ध छ।’ 

एनजीओको स्वास्थ्य, शिक्षा, स्वरोजगार कार्यक्रमबाट नेपालीको जीवनस्तरमा मद्दत पुग्ने बताउँदै मन्त्री थापाले देशलाई समृद्ध बनाउने अभियानमा सघाउने पुग्ने विश्वास गरिन्। उनले चिनियाँ एनजीओसँग सहकार्य गरेर अघि बढ्ने विश्वास समेत दिलाइन। ‘जनताबीको सम्बन्ध अझै गाढा बनोस’, उनले भनिन्। 

समाज कल्याण परिषदका उपाध्यक्ष निलमणी बरालले चिनियाँ एनजीओ नेपालको स्वास्थ्य, शिक्षा, विपद लगायत क्षेत्रमा काम गर्नेगरी आएको जानकारी दिए। यसमा नेपाली एनजीओले सहकार्य गर्ने बताए। ‘समाज कल्याण परिषदले विभिन्न देशका दातृ निकायसँग सहकार्य गर्दै आएको छ। अब यसमा चीन पनि थपिएको छ’, उनले भने, ‘चिनियाँ एनजीओको आगमनले नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा मद्दत पुगाउनेछ।’ उनका अनुसार परिषदले दातृ निकायबाट वार्षिक ५२ अर्ब बढी रकम भित्र्याउने गरेको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै