• २०८१ बैशाख १८ मंगलबार

मलेसियाली विमान एमएच३७० को औपचारिक प्रतिवेदन सार्वजनिक, परिवारजन निराश

kharibot

पुत्रजया, मलेसिया । मलेसियाली विमान एमएच३७० को खोजीसम्बन्धी सोमबार सार्वजनिक औपचारिक प्रतिवेदनले बिमान बेपत्ता हुनाको कुनै पनि कारण उल्लेख नगरेको भन्दै विमानमा सवार परिवारजनले क्रोध र निराशा व्यक्त गरेका छन् । 

परिवारका सदस्यहरूले आधिकारिक अनुसन्धान टोलीको प्रतिवेदनले कुनै निष्कर्ष निकाल्छ कि भन्ने आशा गरेका थिए । चार वर्षअघि बेपत्ता भएको मलेसियाली उक्त विमानमा २३९ यात्रु सबार थिए । तर उक्त प्रतिवेदनमा विमानको बेपत्ता र खोजी प्रयत्नका बारेमा मात्र लामो व्याख्या गरिएको भन्दै परिवारजनले दुःख व्यक्त गरेका छन् । अनुसन्धान अधिकारीहरूले परिवारजनका प्रश्नको उत्तर दिन सकेका छैनन् । कतिपय परिवारजन प्रतिवेदन सार्वजनिक कार्यक्रमबाट बीचमै उठेर हिँडेका थिए । 

“यो प्रतिवेदन अत्यन्त निराशाजनक छ,” इन्तान माइजुरा ओथमानले बताए । उनका पति बेपत्ता भएका विमान एमएच३७० मा फ्लाइट स्टेवार्ड थिए । क्वालालम्पुरबाट बेइजिङका लागि उडेको यो विमान मार्च २०१४ मा बेपत्ता भएको थियो । “म अति हतोत्साहित छु । प्रतिवेदनमा नयाँ कुरा केही पनि छैन । यातायात मन्त्रालयका अधिकारीहरूले हाम्रा प्रश्नको जवाफ दिन सकेनन् ।” 

“धेरैले प्रश्न सोधेका थिए,” जी. सुब्रमनियमले बताए । उनका छोरा यही विमानमा सबार थिए । अधिकारीहरूबाट चित्तबुझ्दो प्रतिक्रिया नपाएपछि धेरैजना क्रुद्ध बनेका थिए ।” 

हिन्द महासागरको एक लाख २० हजार वर्ग किलोमिटरको क्षेत्रमा खोजी गर्दा पनि उक्त विमानको कुनै संकेत भेटिएको छैन । अस्ट्रेलियाले गत वर्ष जनवरीबाट यो विमानको व्यापक खोजी अभियानलाई स्थगित गरेको छ । 

अमेरिकी कम्पनी ओसन इन्फिनिटीले ‘नभेटिए शुल्क दाबी नगर्ने’ शर्तमा यसै वर्षको शुरुदेखि पुनः खोजी अभियान थालेको थियो । यस कम्पनीले उच्च–प्रविधियुक्त ड्रोनको सहायताले समुद्रमा खोजी गरेको थियो । तर, विमानका कुनै पनि अवशेष नभेटिएपछि खोजी अभियान रोकेको छ । 

पारदर्शिताका सन्दर्भमा कुनै कसर बाँकी नराख्ने घोषणा गरेको मलेसियाको नयाँ सरकारले बेपत्ता विमानका बारेमा तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्ने चुनावताका घोषणा गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै