वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरका क्षेत्रमा कर्फ्यु जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्ला सुरक्षा समितिको निर्णयानुसार आज साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागिवीरगन्ज महानगरपालिकाका क्षेत्रका पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फु आदेश जारी गरेका हुन् ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कर्फ्युको समयमा अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन र निस्कुनुपर्ने भएमा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरि निस्किन आग्रह गरिएको छ । कर्फ्यु आदेशको समयमा अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मी, पर्यटकका सवारी साधन, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधन संचालनका लागि सुरक्षाकर्मीहरुले सहजीकरण गर्ने बताइएको छ ।









