• २०८२ चैत २२ आइतबार

एपस्टाइन प्रकरणका पिडितलाई राहत दिन ७.२५ करोड डलरको राहत कोष स्थापना

एपस्टाइन प्रकरणका पिडितलाई राहत दिन ७.२५ करोड डलरको राहत कोष स्थापना

काठमाडौँ । विश्वभर चर्चामा रहेको कुख्यात यौन अपराधी जेफ्री एपस्टाइनसँग सम्बन्धित प्रकरणमा नयाँ खुलासासँगै दबाब बढिरहेको छ । पछिल्ला कागजात र तथ्य बाहिरिँदै जाँदा विश्वका ठूला नेता र अर्बपतिहरू समेत तनावमा परेका छन् ।

यसैबीच, बैंक अफ अमेरिका र पीडित महिलाका कानुनी प्रतिनिधिबीच भएको सहमतिअनुसार करिब ७.२५ करोड डलर बराबरको राहत कोष स्थापना गरिएको छ । उक्त कोषबाट पीडित महिलालाई क्षतिपूर्ति प्रदान गरिने जनाइएको छ ।

अदालतका अनुसार यो कोषबाट करिब ६० देखि ७५ जना महिलाले लाभ लिन सक्नेछन्, जसलाई एपस्टाइनले सन् २००८ पछि यौन शोषण गरेको आरोप छ । अमेरिकी जिल्ला न्यायाधीश जेड एस. राकोफले सहमतिलाई प्रारम्भिक स्वीकृति दिएका छन् भने अन्तिम सुनुवाइ आगामी अगस्ट २७ मा हुने तय गरिएको छ । साथै उनले सबै पीडितसम्म कोषबारे जानकारी पुर्‍याउन निर्देशन दिएका छन्, ताकि कोही पनि छुट्न नपरोस् ।

पीडित पक्षका वकिलहरूले बैंक अफ अमेरिकाले एपस्टाइनका शंकास्पद आर्थिक कारोबारलाई बेवास्ता गरेको आरोप लगाएका छन् । उनीहरूले सन् २००८ देखि २०१९ सम्म एपस्टाइनले महिलाहरूको शोषण गर्दा बैंकले आवश्यक निगरानी नगरेको दाबी गरेका छन् । यद्यपि बैंकले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै कुनै पनि आपराधिक गतिविधिमा संलग्न नभएको स्पष्ट पारेको छ । तर, यो सहमतिले मुद्दा टुंग्याउन र पीडितलाई केही राहत दिन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

जेफ्री एपस्टाइनलाई सन् २०१९ जुलाईमा अवैध यौन व्यापारको आरोपमा पक्राउ गरिएको थियो । तर त्यसको एक महिनापछि अगस्टमा न्यूयोर्कस्थित जेलमा उनको मृत्यु भयो, जसलाई आत्महत्या भनिएको थियो । त्यसयता पनि यस प्रकरणमा नयाँ-नयाँ तथ्य बाहिरिँदै आएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै