काठमाडौँ । सर्वोच्च अदालतमा रवि लामिछाने लगायत प्रतिवादीहरूको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने निर्णयविरूद्धको रिटको सुनुवाइको पेसी छिटो तोक्न माग गर्दै निवेदन दायर भएको छ ।
कानुनका विद्यार्थी आयुष बडालले बुधबार सर्वोच्च अदालतमा उक्त रिटको सुनुवाइ यथाशीघ्र गर्न माग गर्दै निवेदन पेस गरेका हुन्।
गत चैत १५ गते न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले रविसहितको सो मुद्दा सुनुवाइका लागि पूर्ण इजलासमा पेस गर्न आदेश गरेको थियो । इजलासले सुनुवाइको मिति नतोकेपछि यसको सुनुवाइ ढिलाइ हुनसक्ने भन्दै बडालले छिटो पेसी तोकिदिन भन्दै निवेदन दिएका हुन् ।
अब रविको रिटको सुनुवाई तीन वा सो भन्दा बढी न्यायाधीश सम्मिलित पूर्ण इजलासमा सुनुवाई हुने छ ।
तत्कालिन महान्यायाधिवक्ता सबिता भण्डारीले गत पुस ३० गते रास्वपा सभापति लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने निर्णय गरेको थियो । भण्डारीले आसन्न निर्वाचनलाई लक्षित गरी लामिछानेलाई उम्मेदवारी दिन र निर्वाचित भएमा राजनीतिक अधिकार उपभोग गर्ने बाटो खुल्ने गरी अभियोग संशोधनको निर्णय गरेकी थिइन् ।









