काठमाडौँ । सामाजिक सञ्जालमा नेपाल प्रहरीको सवारी साधन फुटपाथमा पार्क गरिएको तस्बिर सार्वजनिक भएपछि यसप्रति नेपाल प्रहरी केन्द्रीय कार्यालयको ध्यानाकर्षण भएको जनाएको छ ।
प्रहरीले सडक अनुशासनविपरीत यस्ता गतिविधिले सर्वसाधारणको आवागमनमा बाधा पुग्नुका साथै प्रचलित कानुनको उल्लङ्घन हुने जनाएको छ । कानून कार्यान्वयन गर्ने निकायका सदस्यबाटै यस्तो व्यवहार हुनु गम्भीर विषय भएको उल्लेख गरिएको छ ।
प्रहरीले आफ्नो संगठनभित्रका सबै सदस्यलाई सवारी साधन प्रयोगमा उच्च अनुशासन कायम गर्न निर्देशन दिएको छ । सरकारी वा निजी जुनसुकै सवारी भए पनि चलाउँदा र पार्किङ गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरिएको छ ।
यसैगरी, सम्पूर्ण सडक प्रयोगकर्तालाई पनि ट्राफिक नियमको पालना गर्न प्रहरीले अनुरोध गरेको छ ।









