काठमाडौं । अध्यागमन विभागले युएई जाने नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने दुई कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ ।
यूएई जान लागेका नेपाली नागरिकको राहदानीमा केरमेट गर्ने दुई जना अध्यागमन अधिकृतहरुलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जिम्मेवारीबाट हटाइएको प्रवक्ता टीकाराम ढकालले जानकारी दिएका छन् । उनीहरुमाथि आवश्यक छानबिन भइरहेको विभागले जनाएको छ ।
विभागले भनेको छ- 'अरब ईमिरेट्स प्रस्थान गर्न लागेका कुनै नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै 'Employment is strictly prohibited. Visit till १० / ६ / २०२६' लेखेको विषयमा मिति २०८२। १। ३ को निर्णयबाट छानविन समिति गठन गरिएको व्यहोरा अवगत नै छ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको हुँदा प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानूनी अभ्यास गर्ने दुई जना अध्यागमन अधिकृतहरुलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जिम्मेवारीबाट हटाइ सो सम्बन्धमा आवश्यक छानबिन भइरहेको व्यहोरा अनुरोध गरिन्छ।’
अनावश्यक कागजात माग गर्ने र तजबिजीको आधारमा निर्णय गरी हुने गरेको अनियमिततालाई नियन्त्रण गर्न सरकारले भिजिट भिसामा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकहरूको सरलीकृत र व्यवस्थित मापदण्ड बनाइएको विज्ञप्तिमा उल्लेख छ ।
यस अगाडि विज्ञप्तिमा भनिएको थियो, ‘कुनै पनि नेपाली नागरिकलाई कानुनभन्दा बाहिर गई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको हुँदा प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानूनी अभ्यास गर्ने कर्मचारीलाई कारबाहीको लागि आन्तरिक छानबिनको प्रक्रिया अगाडि बढाइएको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ ।’









