• २०८३ बैशाख १० बिहीबार

इजरायली गुप्तचर संस्था मोसादका एजेन्ट 'मेम' को मृत्युको खुलासा

इजरायली गुप्तचर संस्था मोसादका एजेन्ट 'मेम' को मृत्युको खुलासा

काठमाडौँ । इजरायलको गुप्तचर संस्था मोसादका एक एजेन्टबारे ठूलो खुलासा भएको छ । मोसाद प्रमुख डेविड बार्नियाले ‘मेम’ नामबाट चिनिने ती एजेन्टले इजरायलको सुरक्षा रणनीतिमा महत्वपूर्ण योगदान दिएका थिए । सन् २०२३ मे महिनामा इटालीमा डुंगा दुर्घटनामा परेर उनको मृत्यु भएको खुलासा अहिले भएको छ ।

टाइम्स अफ इजरायलमा प्रकाशित रिपोर्टका अनुसार उक्त एजेन्टको पहिचान सार्वजनिक नगरिए पनि उनलाई हिब्रु भाषाको पहिलो अक्षर ‘मेम’ बाट चिनिन्थ्यो । इटालीको माजियोरे तालमा भएको दुर्घटनामा चार जनाको ज्यान गएको थियो। त्यतिबेला इटालीका केही मिडियाले उनलाई ५० वर्षीय एरेज शिमोनी भनेर उल्लेख गरेका थिए, तर त्यो वास्तविक नाम नभएको बताइएको छ ।

मोसाद मुख्यालयमा आयोजित स्मरण कार्यक्रममा बार्नियाले ती एजेन्टको योगदानको प्रशंसा गर्दै भने- 'उनी देशका लागि जीवन समर्पण गर्ने समर्पित र दक्ष अधिकारी थिए ।' उनका अनुसार ‘रोअरिङ लायन’ नाम दिइएको अभियानमा ‘मेम’ को भूमिका अत्यन्तै महत्वपूर्ण थियो ।

उनले नेतृत्व गरेको अभियान सिर्जनात्मकता, चतुराइ र अत्याधुनिक प्रविधिको संयोजन भएको बताइएको छ, जसले इरानविरुद्ध इजरायलको रणनीतिक सफलतामा उल्लेखनीय योगदान पुर्‍याएको दाबी गरिएको छ ।

इटालीका सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा डुंगामा गोप्यचर एजेन्टहरूको बैठक चलिरहेको थियो। त्यहाँ रहेका २३ जनामध्ये १९ जना इजरायली र इटालियन गोप्यचर निकायसँग सम्बन्धित थिए ।

दुर्घटनापछि ‘मेम’ को शव इजरायल लगेर अश्केलोनस्थित सैनिक समाधिस्थलमा सम्मानका साथ अन्त्येष्टि गरिएको थियो। अन्त्येष्टिमा मोसादका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

बार्नियाले अन्त्येष्टिमा उनलाई “मूल्यवान व्यक्तित्व, सच्चा साथी र देशप्रति निष्ठावान अधिकारी” का रूपमा सम्झिएका थिए। उनले ‘मेम’ ले आफ्नो सम्पूर्ण जीवन गोप्य सेवामा बिताएको र उनका धेरै योगदान अझै सार्वजनिक गर्न नसकिने बताएका थिए ।

यसैबीच, दुर्घटनामा संलग्न पर्यटकीय डुंगाका चालक क्लाउडियो कार्मिनाटीलाई यात्रुको मृत्युका लागि चार वर्ष कैद सजाय सुनाइएको छ । अनुसन्धानमा डुंगामा क्षमताभन्दा बढी यात्रु रहेको खुलेको थियो । दुर्घटनाका बेला डुंगा किनाराबाट करिब १०० मिटर टाढा रहेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै