• २०८३ बैशाख ११ शुक्रबार

रेखा थापाले निर्देशन गरेको चलचित्र ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा प्रदर्शन हुने

रेखा थापाले निर्देशन गरेको चलचित्र ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा प्रदर्शन हुने

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा तयार भएको चलचित्र ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरिएको छ । 

निर्माण पक्ष र वितरकहरूबीच भएको आपसी सहमति र सम्झौता अनुसार यो चलचित्र आगामी भदौ २६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको हो ।

यसअघि निर्माण पक्षले चलचित्र तीजको अवसर पारेर प्रदर्शनमा आउने जानकारी दिए पनि ठोस मिति भने तय गरेको थिएन ।  वितरकहरूसँगको पछिल्लो चरणको छलफलपछि तीजको विशेष अवसर र कुशे औंसी (बुबाको मुख हेर्ने दिन)का दिन चलचित्र रिलिज गर्न लागिएको जानकारी दिएको छ ।

यो चलचित्रलाई देशभरका प्रमुख वितरक कम्पनीहरू रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन् । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री थापाले यसै चलचित्रमार्फत ८ वर्षपछि निर्देशनमा पुनरागमन गरेकी हुन् । यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता सफल चलचित्रको निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशकीय फिचर सिनेमा हो ।

यस चलचित्रमा अभिनयमा नभएर निर्देशनमा मात्र पूर्ण रूपमा केन्द्रित भएकी रेखाले यसपटक आफ्नै ब्यानर ‘रेखा फिल्मस्’ भन्दा बाहिर आएर काम गरिरहेकी हुन् । नेपाली चलचित्र इतिहासमा कुनै पनि स्थापित महिला निर्देशकले बाहिरी ब्यानरको चलचित्र निर्देशन गरेको यो सम्भवतः पहिलो पटक हो ।

‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको यस चलचित्रमा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहार छन् ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ । विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ । यस हिसाबले चलचित्रमा एक साथ चार मिस नेपाल समेटिएका छन् । ‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण यो चलचित्रमा लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतको अभिनय छ ।

चलचित्रको निर्माण पक्षले यसअघि औपचारिक घोषण गर्दा दुईवटा पोस्टर सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका दुई पोष्टरमा कलाकारहरूको भावुक र रोमान्टिक अवतार देखाइएको थियो । गत चैत्र २८ गते २८ औँ दिनमा छायाकंन सम्पन्न गराएको यो चलचित्रको हाल पोस्टको काम भइरहेको छ । यस चलचित्रका निर्माता हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ हुन् ।

ध्रुव लम्सालको पटकथा लेखन रहेको यस चलचित्रले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई चित्रण गर्ने दाबी गरिएको छ । लेखक लम्साल १० वर्षको अन्तरालपछि यसै सिनेमामार्फत लेखनमा फर्किएका हुन् ।

सुदीप बरालको छायांकन रहेको चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन चुडामणी (सीएम) छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै