काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार तेस्रो दिन पनि प्रतिव्यारेल १०० डलरभन्दा माथि कायम रहेको छ। यसले विश्व बजारसँगै आयातमा निर्भर देशहरूमा चिन्ता बढाएको छ ।
वैश्विक मापदण्ड ब्रेन्ट क्रुड शुक्रबार १ दशमलव ८ प्रतिशतले बढेर प्रतिव्यारेल १०१.२ डलर पुगेको छ। यसअघि बुधबार र बिहीबार पनि यसको मूल्य १०० डलरभन्दा माथि बन्द भएको थियो। अमेरिकी मापदण्ड डब्लुटिआई पनि १.८ प्रतिशतले बढेर प्रतिव्यारेल ९७.६ डलरमा कारोबार भएको छ।
विश्लेषकहरूका अनुसार अमेरिका–ईरान तनाव अन्त्यतर्फ कुनै ठोस प्रगति नदेखिएकाले बजारमा अनिश्चितता कायम छ। इजरायल–लेबनानबीच युद्धविराम अवधि थपिए पनि क्षेत्रीय तनाव अझै कम भएको छैन ।
होर्मुज जलडमरूमध्यमा जहाज नियन्त्रणमा लिने घटना र समुद्री सुरक्षामाथि उठेका प्रश्नहरूले पनि तेल आपूर्तिको चिन्ता बढाएको छ ।
तेलको मूल्य बढिरहँदा विश्व शेयर बजारमा मिश्रित प्रभाव देखिएको छ। जापान र हङकङका बजारमा सुधार देखिए पनि युरोपेली बजार भने दबाबमा रहेका छन्।
विशेषज्ञहरूले कच्चा तेलको मूल्य लामो समयसम्म १०० डलरभन्दा माथि रहे भारतजस्ता आयातमुखी देशमा महँगी र व्यापार घाटाको दबाब थप बढ्न सक्ने बताएका छन्।









