• २०८१ बैशाख १६ आइतबार

नोबेल पुरस्कार विजेता भीएस नैपालको निधन 

kharibot

काठमाडौँ। साहित्य विधामा नोबेल पुरस्कार विजेता र चर्चित लेखक विद्याधर सुरजप्रसाद नैपालको निधन भएको छ । 

बीबीसीका अनुसार उनको निधन ८५ वर्षको उमेरमा लण्डनमा स्थित उनको आफ्नै घरमा भएको हो । भारतीय मूलका नैपालको जन्म सन् १९३२ मा ट्रिनिडाडमा भएको थियो । ट्रिनिडाडमा हुर्केका नैपालले अक्सफोर्ड विश्वविद्यालयबाट आफ्नो अध्ययन पूरा गरेका थिए । लेखनको क्षेत्रमा प्रसिद्धि कमाउनुभन्दा अगाडि उनले बीबीसीमा पनि काम गरेका थिए । 

सन् १९५० मा उनले कुनै पनि युनिभर्सिटीमा पढ्नको लागि सरकारी स्कलरशिप प्राप्त गरेका थिए । उनी यसैको माध्यमबाट अक्सफोर्डमा भर्ना भएका थिए । छात्र जीवनमा उनले डिप्रशनमा परेर आत्महत्याको पनि प्रयास गरेका थिए । 

अ बेण्ड इन द रिभर र अ हाउस फर मिस्टर विश्वास उनका विश्वप्रसिद्ध कृतिहरू हुन् । त्यस्तै, उपन्यास र नियात्रामा सिद्धहस्त उनका इन अ फ्री स्टेट, एन एरिया अफ डार्कनेस, हाल्फ अ लाइफ, अ वे इन द वल्र्ड आदि पनि निकै चर्चित छन् । उनको पहिलो कृति द मिस्टिक मेसर सन् १९५१ मा प्रकाशित भएको थियो । आफ्नो सबैभन्दा चर्चित उपन्यास अ हाउस फर मिस्टर विश्वास लेख्न उनले तीन वर्षभन्दा बढी समय लगाएका थिए । 

नैपाललाई सन् १९७१ मा बुकर पुरस्कार र सन् २००१ मा साहित्यका लागि नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो ।  सन् २००१ को नोबेल पुरस्कार प्राप्त गरेपछि नैपालको भाषण ‘दुई शब्द’ले नेपालसँग उनको प्रगाढ सम्बन्ध थियो भन्ने देखाउँछ । 

उनले उक्त भाषणमा भनेका छन्, ‘मलाई मेरो पितातर्फका मानिसहरूबारे केही पनि थाहा छैन, मलाई यति मात्र थाहा छ, तिनीहरूमध्ये केही नेपालबाट आएका हुन् । एक दयालु नेपाली जसले मेरो नाम मन पराए, उनले सन् १८७२ को बेलायतको भारतसम्बन्धी कार्यपत्रको दस्तावेजको केही प्रति मलाई पठाए । यसमा बनारसमा बस्ने हिन्दु जाति र आदिवासीको सूची थियो । उक्त दस्तावेजअनुसार बनारसमा रहने अधिकांश नेपालीले नैपाल थर धारण गरेका थिए । मसँग जे छ, यति नै छ ।’ 

नैपाल सिर्जनशील, कर्मठ र सबैलाई प्रेम गर्ने नम्र स्वभावका थिए । उनको निधनपछि उनकी पत्नीले भनिन्, ‘उहाँले रचनात्मकता र परिश्रमले युक्त जीवन जिउनुभयो, अन्तिम समयमा उहाँसँग ती सबै व्यक्ति साथमा थिए जसलाई उहाँले धेरै माया गर्नुहुन्थ्यो ।’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै