काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् ।
बुधबार बिहान खड्काको गोल्फुटारस्थित निवासमा उपसभापति विश्वप्रकाश शर्मासहित सभापति थापाले खड्कासँग पार्टीको विवादका बारेमा छलफल गरेका हुन् ।
सर्वोच्च अदालतले थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेपछि देउवा समूहले छुट्टै भेला गर्दै आएको छ भने थापा नेतृत्वको काँग्रेस आगामी असोजमा महाधिवेशन गर्ने गरी अगाडी बढेको छ । आज भएको छलफल सकारात्मक भएको र दुई पक्षबीच सहकार्य गरेर अघि बढ्ने विषयमा कुराकानी भएको बताइएको छ ।
यसअघि सभापति थापाले मंगलबार काँग्रेस नेता डा. शेखर कोइरालासँग पनि छलफल गरेका थिए ।
देउवा र कोइराला पक्षका नेताहरुले अहिले चलाइएको क्रियाशील नवीकरणको अभियानको विरोध गरेका छन् । उनीहरुले यसअघिकै सदस्यता कायम गरिनुपर्ने बताउदै आएका छन् । अर्को सभापति थापाले काँग्रेसलाई पुनर्जीवन दिन सदस्यता नवीकरण आवश्यक रहेको बताउदै अभियान चलाइरहेका छन् ।









