• २०८३ जेठ २७ बुधबार

फिलिपिन्समा भूकम्पबाट मृत्यु हुनेको संख्या ४५ नाघ्यो, २१ सयभन्दा बढी पराकम्प

फिलिपिन्समा भूकम्पबाट मृत्यु हुनेको संख्या ४५ नाघ्यो, २१ सयभन्दा बढी पराकम्प

काठमाडौँ । फिलिपिन्समा आएको विनाशकारी भूकम्पपछि उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको छ । तर लगातार आइरहेका परकम्पका कारण उद्धार कार्यमा ठूलो कठिनाइ भइरहेको छ ।

फिलिपिन्स ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका अनुसार भूकम्पपछि हालसम्म २१ सय भन्दा बढी परकम्प मापन गरिएका छन् । तीमध्ये केहीको तीव्रता ६.४ सम्म पुगेको बताइएको छ । निरन्तर आइरहेका परकम्पका कारण थप क्षति र जोखिम बढ्दै गएको अधिकारीहरूले जनाएका छन् ।

ताजा विवरण अनुसार भूकम्पमा परी कम्तीमा ४५ जनाको ज्यान गएको छ भने करिब ६३० जना घाइते भएका छन् । अझै १७ जना बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको छ ।

भूकम्पको सबैभन्दा बढी प्रभाव जनरल सान्तोस सहर र आसपासका सराङ्गानी, दक्षिण कोटाबातो र दाभाओ अक्सिडेन्टल क्षेत्रमा परेको बताइएको छ ।

आज आंशिक रूपमा भत्किएको एक किराना भवनमा खोजी कार्यका क्रममा शक्तिशाली परकम्प आएको थियो । त्यसपछि उद्धारकर्मीहरू तुरुन्तै बाहिर निस्कन बाध्य भएका थिए । अधिकारीहरूका अनुसार भवनलाई सुरक्षित नगरी उद्धार कार्य पुनः सुरु गर्न नसकिने अवस्था छ । लगभग २५ हजार मानिस अहिले पनि विस्थापित भएर सरकारी राहत शिविरमा बसिरहेका छन् । धेरै मानिस मानसिक आघातका कारण घर फर्किन डराइरहेका छन् ।

सरकारी विवरण अनुसार भूकम्पले तीन हजार एक सयभन्दा बढी घर, २९ सडक, ११ पुल र सयभन्दा बढी सरकारी भवनमा क्षति पुर्‍याएको छ । जनरल सान्तोसको अन्तर्राष्ट्रिय विमानस्थल पनि क्षतिग्रस्त भएको छ र अनिश्चितकालका लागि बन्द गरिएको छ । तर राहत सामग्री र सरकारी उडानहरूलाई भने अनुमति दिइएको छ ।

यसैबीच, भूकम्पपछि समुद्री क्षेत्रमा पनि जोखिम देखिएको थियो । उठेका ठूलो छालका कारण केही मानिस बगाएको र केही अझै बेपत्ता रहेको बताइएको छ । तटरक्षक बलले केहीको उद्धार गरेको छ भने बाँकीको खोजी जारी छ ।

विशेषज्ञहरूका अनुसार यो भूकम्प कोटाबातो ट्रेन्च क्षेत्रमा भएको भूगर्भीय गतिविधिका कारण आएको हो र यो पछिल्ला दशकहरूमा फिलिपिन्समा आएका सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक मानिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै