काठमाडौँ । भारतको असम राज्यस्थित जोरहाटको रौरिया वायुसेना अड्डामा शनिबार बिहान अवतरणका क्रममा एक सैन्य विमान दुर्घटनाग्रस्त भएको छ ।
विमान वायुसेना अड्डामा अवतरण गर्ने प्रयास गरिरहेको बेला दुर्घटना भएको जनाइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो भने विमान दुई टुक्रा भएको बताइएको छ ।
दुर्घटनामा परेको विमान एएन–३२ मालवाहक विमान रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो विमान सैनिक र आवश्यक सामग्री ढुवानीका लागि प्रयोग गरिन्छ । दुर्घटनामा चालकको मृत्यु भएको आशंका गरिएको छ ।
भारतीय वायुसेनासँग हाल करिब १०० वटा एएन–३२ सामरिक ढुवानी विमान सञ्चालनमा रहेका छन् । वायुसेनाले सुरुआतमा सोभियत संघमा निर्मित यस्ता १२५ वटा विमान खरिद गरेको भए पनि हाल सक्रिय सेवामा करिब १०० वटा मात्र रहेका छन् ।
सन् १९८० देखि एएन–३२ विमानले भारतीय वायुसेनाको मध्यम क्षमताको हवाई ढुवानी व्यवस्थाको मुख्य आधारका रूपमा काम गर्दै आएको छ । उच्च तापक्रम भएका क्षेत्र र हिमालयजस्ता उच्च पहाडी भूभागमा पनि प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने भएकाले यो विमानलाई वायुसेनाका लागि महत्वपूर्ण मानिन्छ ।









