काठमाडौं । ओमानको तटीय क्षेत्र नजिक समुद्रमा १४ भारतीय नागरिक सवार एक परम्परागत डुङ्गा दुर्घटनामा पर्न लागेको अवस्थामा समयमै उद्धार गरी ठूलो दुर्घटना टरेको छ ।
अधिकारीहरूका अनुसार ओमानको रास अल हद्दबाट करिब ८० नटिकल माइल पूर्व समुद्रमा उक्त डुङ्गा अचानक संकटमा फसेर डुब्ने अवस्थामा पुगेको थियो। सूचना पाएलगत्तै अमेरिकी नौसेना, भारतीय नौसेना र नजिकै रहेको एक व्यापारिक जहाजले संयुक्त रूपमा उद्धार अभियान सुरु गरेका थिए ।
उद्धार क्रममा अमेरिकी नौसेनाको पी–८ समुद्री निगरानी विमान तत्काल घटनास्थलमा पुगेर समुद्रमा लाइफ राफ्ट खसाल्दै उद्धार प्रक्रियामा सहयोग गरेको थियो । डुङ्गामा सवार सबै १४ जना भारतीय नागरिक सुरक्षित रूपमा लाइफ राफ्टमा पुगेका थिए ।
यसैबीच सोहारबाट मुम्बईतर्फ जाँदै गरेको एमभी जबल अली–९ नामक व्यापारिक जहाज पनि उद्धार अभियानमा सहभागी भएको थियो । सो जहाजले घटनास्थल नजिकै पुगेर खोज तथा उद्धार कार्यमा सहयोग पुर्याएको र सबै यात्रु सुरक्षित रहेको पुष्टि गरेको जनाइएको छ ।
अमेरिकी र भारतीय नौसेनाले आवश्यक परे थप सहायता उपलब्ध गराउन अन्य जहाजहरू पनि घटनास्थलतर्फ पठाएका थिए ।
ओमान र होर्मुज जलडमरूमध्य वरपरको समुद्री क्षेत्र पछिल्ला समय सुरक्षा दृष्टिले संवेदनशील बन्दै गएको अवस्थामा भएको यो सफल उद्धारले ठूलो सम्भावित मानवीय क्षति टरेको अधिकारीहरूले बताएका छन् । अहिले सम्बन्धित निकायहरूले घटनाबारे थप निगरानी गरिरहेका छन् ।









