• २०८३ असार १ सोमबार

शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूतको भेट, शिक्षा क्षेत्रमा सहकार्य विस्तारबारे छलफल

शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूतको भेट, शिक्षा क्षेत्रमा सहकार्य विस्तारबारे छलफल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत ड्यानिएल मेउलीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा आपसी हित, द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, नेपालको शिक्षा क्षेत्रमा स्वीट्जरल्याण्डले गर्दै आएको सहयोग तथा शिक्षा क्षेत्रमा साझेदारी विस्तार गर्ने विषयमा छलफल भएको थियो ।

स्वीट्जरल्याण्ड नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा लामो समयदेखि सहयोग गर्दै आएको विकास साझेदार राष्ट्र हो । विशेषगरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) मार्फत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

हाल स्विस विकास तथा सहयोग एजेन्सीको सहयोगमा सिटिइभिटीमार्फत राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली, दिगो तथा सम्मानजनक रोजगारीका लागि सीप अभिवृद्धि र युवाका लागि गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमसम्बन्धी तीन परियोजना सञ्चालनमा रहेका छन् ।

भेटका क्रममा शिक्षामन्त्री पोखरेलले नेपाल र स्वीट्जरल्याण्डबीच लामो समयदेखि सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको शिक्षा तथा विकास क्षेत्रमा स्विस सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले सिटिइभिटी सम्बन्धी ऐनको मस्यौदा तयारीको चरणमा रहेको र प्राविधिक शिक्षालाई समयानुकूल बनाउन विज्ञ समूहसँग परामर्श भइरहेको जानकारी दिँदै यसलाई छिट्टै संसद्मा प्रस्तुत गर्ने तयारी रहेको बताए ।

मन्त्री पोखरेलले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षामा स्विस सरकारको सहयोग आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा व्यक्त गरे । साथै प्राविधिक शिक्षासँगै डिजिटलीकरण र समावेशी शिक्षाका क्षेत्रमा पनि सहकार्य विस्तार गर्न सकिने धारणा राखे ।

उनले सरकारले सातै प्रदेशमा विशेष अटिजम विद्यालय स्थापना गर्ने नीति अनुसार काम अघि बढिरहेको जानकारी दिँदै विद्यालय तहदेखि नै रोजगारमुखी शिक्षामा जोड दिनुपर्ने बताए । काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्दै आएको ‘बुक फ्री फ्राइडे’ कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै त्यसलाई पाठ्यक्रममै समावेश गरी देशभर विस्तार गर्ने योजना रहेको जानकारी पनि दिए ।

भेटका क्रममा राजदूत मेउलीले नेपालको शिक्षा क्षेत्रमा स्वीट्जरल्याण्डले गर्दै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल सरकारका प्राथमिकताअनुसार सहकार्य गर्न स्विस सरकार सधैँ तयार रहेको बताए । साथै, हाल शिक्षा क्षेत्रमा सञ्चालनमा रहेका तीनवटा परियोजनालाई एकीकृत गरी थप प्रभावकारी ढंगले अघि बढाउने योजना रहेको जानकारी पनि गराए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै