• २०८१ बैशाख १५ शनिबार

अटलबिहारी बाजपेयी :  एक शालीन राजनीतिक युगको अन्त्य 

kharibot

काठमाडौँ। भारतीय पुर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको विहिबार निधन भएको छ।  बाजपेयीको निधनसँगै भारतमा एक निष्ठाको राजनीति गर्ने र सरल जीवन जिउने एक राजनीतिक युगको पनि अन्त्य भएको छ। बाजपेयी राजनीतिक व्यक्ति हुदाहुदै पनि उनी राम्रो कविता पनि लेख्ने गर्दथे।  उनले जीवन, मृत्यु र देशका बारेमा धेरै कविता लेखेका छन्। 

प्रसिद्ध हिन्दी कविको परिचय बदल्दै तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल बिहारी वाजपेयी निष्ठावान् राजनीतिज्ञको अविस्मरणीय छवि छाडेर बिहीबार सधैँका लागि विदा भएका छन् । 

भारतमा सबभन्दा लामो समयसम्म सांसद बन्नु भएका बाजपेयी जवाहरलाल नेहरू र इन्दिरा गान्धीपछि सबभन्दा लामो समयसम्म प्रधानमन्त्री पनि बन्नुभएको थियो । गठबन्धन सरकारलाई स्थायित्व र सफलता प्रदान गर्ने प्रधानमन्त्रीको रूपमा पनि उनलाई सम्झने गरिन्छ । 

सन् १९२४ डिसेम्बर २५ तारिखका दिन उत्तर प्रदेशको आगरा जनपदको प्राचीन स्थान बटेश्वरमा उनको जन्म भएको थियो ।  उनले कानपुरको डी.ए.वी. कलेजबाट राजनीति शास्त्रमा प्रथम श्रेणीमा एम.ए. को परीक्षा उत्तीर्ण गरेका थिए भने एल.एल.बी. को पढाई शुरू गरेपनि छोडेर विद्यार्थीकाल देखि नै राष्ट्रिय स्वयंसेवक सङ्घमा लागेका थिए । 

महात्मा रामचन्द्र वीरद्वारा रचित अमर कृति “विजय पताका” पढेर आफू परिवर्तन भएको बताउने बाजपेयीले डा. श्यामा प्रसाद मुखर्जी र पं. दीनदयाल उपाध्यायको निर्देशनमा राजनीतिको पाठ पढेका थिए । राष्ट्रिय स्तरको वादविवाद प्रतियोगिताहरूमा भाग लिन थालेपछि सार्वजनिक छवि बनाउदै जानुभएका वाजपेयीले पाञ्चजन्य, राष्ट्रधर्म, दैनिक स्वदेश र वीर अर्जुनको सम्पादक समेत बने । उनी प्रखर वक्ता पनि थिए।  

प्राध्यापन पेशामा रहेका र राम्रा कवि मानिएका आफ्ना पिता कृष्ण बिहारी वाजपेयीको प्रेरणाबाट उनी साहित्यिक क्षेत्रमा लागेका थिए । उनको पहिलो कविता ‘ताजमहल’ मानिन्छ । राष्ट्रप्रतिको वैयक्तिक संवेदनशीलता, संघर्षमय जीवन, परिवर्तनशीलता, जेलवास सबै परिस्थितिको प्रभाव एवं अनुभूति उनका कवितामा पाईन्छ । 

भारतीय जन सङ्घको संस्थापक वाजपेयी सन् १९६८ देखि १९७३ सम्म त्यसको अध्यक्षको रुपमा राजनीतिक नेतृत्व गरेका थिए । सन् १९५५ मा लोकसभाका लागि गरेको पहिलो पटकको प्रतिस्पर्धामै उनी पराजित भएका थिए । सन् १९५७ मा बलरामपुरबाट भने जनसङ्घको तर्फबाट विजयी भई लोक सभामा पुग्न सफल भएका थिए । 

सन् १९५७ देखि १९७७ सम्म जनसघंको संसदीय दलको नेता बने भने १९६८ देखि १९७३ सम्म भारतीय जनसङ्घको राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । 

सन् १९७७ देखि १९७९ सम्म भारतको विदेश मन्त्री बनेर उनले विदेशमा भारतको छवि राम्रो बनाउन सफल भए । उनले संयुक्त राष्ट्रसंघमा हिन्दीमा भाषण गरेर भारतीयलाई गौरवान्वित गराएका थिए । 

सन् १९८० मा भारतीय जनता पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका बाजपेयीले ६ अप्रिल, १९८० मा सो पार्टीको अध्यक्ष पदको जिम्मेवारी पाए । त्यसपछि दुईपटक राज्यसभामा निर्वाचित भए र १९९७ मा प्रधानमन्त्रीका रूपमा पहिलो पटक देशको बागडोर सम्हाल्ने ऐतिहासिक अवसर पाए । 

बाजपेयीले १८ बर्षको उमेरमा राजनीतिमा कदम राखेका थिए। १९५७ मा पहिलो पटक भारतीय लोकसभाको सांसद बनेका बाजपेयी ४७ बर्षसम्म सांसद बनेका थिए । उनी दश पटक लोकसभा र २ पटक राज्यसभाको सांसद बनेका थिए। 

बाजपेयी भारतीय जनता पार्टीका तर्फबाट प्रधानमन्त्री बन्ने पहिलो नेता हुन्।  साथै भारतीय काँग्रेसका बाहेकका पार्टीबाट पुरा टर्म प्रधानमन्त्री बन्ने उनी पहिलो प्रधानमन्त्री पनि हुन्।  उनी पहिलो पटक स न् १९९६ मा १३ दिनका लागि प्रधानमन्त्री बनेका थिए। त्यसपछि बाजपेयी सन् १९९८ मा १३ महिनाका लागि दोस्रो कार्यकाल पधानमन्त्री बनेका थिए भने उनी सन् १९९८ को मार्च १९ देखि २००४ को मे सम्म तेस्रो पटक भारतको प्रधानमन्त्री बनेका थिए। सन् २००९ देखि सार्वजनिक जीवनमा नदेखिए बाजपेयी त्यति बेला लखनउबाट संसद थिए। 

बाजपेयी आफ्नो भाषण, साधारण जीवनशैली र देशप्रेमका लागि चिनिन्छन्। छिमेकी देशसँगको सम्बन्ध राम्रो बनाउन बाजपेयी सधै प्रयासरत रहे।  पाकिस्तानसँग सम्बन्ध बनाउन आफै पाकिस्तान गए भने तत्कालिन पाकिस्तानी राष्ट्रपति परवेज मुसरफलाई भारत बोलाएर वार्ता गरेको प्रसंग निकै चर्चित रहेको छ। उनले भनेको चर्चित भनाई छ, 'छिमेकी बदल्न सकिन्न', जुन भनाईले पनि छिमेकी प्रति उनको विचार र सोचाई प्रष्ट हुन्छ।   

पेट्रोलियम पदार्थको मुल्यबृद्धिको विरोधमा बयलगाडामा संसद गए :        

अहिले पनि भारतमा भारतीय जनता पार्टी (भाजपा) को नै सरकार छ र अहिले पेट्रोलियम पदार्थको मुल्य आकाशिएको छ। तर बाजपेयीको पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधको एक रोचक शैली भारतमा निकै चर्चित छ। आजभन्दा ४४ बर्ष पहिला पूर्व प्रधानमंत्री अटल बिहारी वाजपेयीले तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीको सरकारले पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि गरेपछि यसको विरोधमा बाजपेयीले हल्ला बोलेका थिए। बाजपेयीले विरोधमा प्रदर्शन गर्दै बयलगाढा लिएर संसद भवन पुगेका थिए। बाजपेयीसँग २ अन्य संसद बयलगाढामा र अन्य सांसदसाइकल मा संसद पुगेको त्यो घटनाले विश्वभर चर्चा पाएको थियो। सो समयमा भारतमा हुने पेट्रोलियम पदार्थको सप्लाई कम भएकाले ८० प्रतिशतसम्म मुल्य बढेको थियो। 

नेहरुको प्रधानमन्त्री बन्ने भविश्यवाणी :

अटल बिहारी बाजपेयीले सन् 1957 मा पहिलो पटक चुनाव जितेर संसदमा आएका थिए। त्यति बेला जवाहरलाल नेहरू प्रधानमन्त्री थिए। नेहरुले नयाँ सांसदलाई संसदमा बोल्ने मौका दिने गर्दथे र उनीहरुका कुरा राम्रोसँग सुन्ने गर्दथे। पहिलो पटक बाजपेयीको भाषण संसदमा सुने पछि नेहरु निकै प्रभावित बनेका थिए। नेहरुले उनको सो भाषण सुनेपछि उनलाई देशको प्रधानमन्त्री बन्ने भविश्यवाणी गरेका थिए। बाजपेयीले आफ्नो पहिलो भाषणमा दुई कुरामा जोड दिएका थिए पहिलो संसदीय मर्यादाका पालना र दोस्रो व्यक्तिगत आचरण। यसै कारणले नै ४७ बर्षसम्म सांसद रहेका बाजपेयीको कुनै कुरामा भारतीय संसदमा न कुनै आपत्ति जनाइयो न कुनै हंगामा नै भयो। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै