काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले बेलायतका रक्षा राज्यमन्त्री ड्यान जार्भिससँग भर्चुअल बैठक गर्दै बेलायती गोर्खासम्बन्धी लामो समयदेखि समाधान हुन नसकेका मागहरू छिट्टै सम्बोधन गर्न आग्रह गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार भएको बैठकमा मन्त्री खनालले नेपाल–बेलायत सम्बन्धमा बेलायती गोर्खाको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनीहरूको जायज माग दुवै पक्षलाई स्वीकार्य हुने गरी यथाशीघ्र समाधान गर्नुपर्नेमा जोड दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनले बेलायती गोर्खाले पुर्याएको योगदान र गरेको त्यागलाई सम्मान गर्दै उनीहरूको मागलाई मानवीय दृष्टिकोणबाट सम्बोधन गर्न बेलायती सरकारसँग आग्रह गरेका थिए । साथै, यस विषयको समाधानका लागि नेपाल सरकार सहकार्य र रचनात्मक भूमिकामा रहन तयार रहेको पनि उनले बताए ।
जवाफमा बेलायतका रक्षा राज्यमन्त्री जार्भिसले बेलायती गोर्खा बेलायती सेनाको अभिन्न हिस्सा रहेको उल्लेख गर्दै यो विषयलाई बेलायत सरकारले उच्च प्राथमिकतामा राखेको र सकेसम्म चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बैठकमा परराष्ट्र मन्त्रालयको युरोप महाशाखाका प्रमुख गणेशप्रसाद ढकालसहित मन्त्रालयका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो ।
उक्त बैठक काठमाडौँस्थित बेलायती दूतावासको समन्वय र सहजीकरणमा सम्पन्न भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।









