काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघले फिफा विश्वकप फाइनलका लागि मुख्य निर्णायकको घोषणा गरेको छ । अर्जेन्टिना र स्पेनबीच न्युजर्सी रङ्गशालामा हुने उपाधि भिडन्तमा स्लोभेनियाका ४६ वर्षीय अनुभवी निर्णायक स्लाभ्को भिन्चिचले मुख्य निर्णायकको जिम्मेवारी सम्हाल्नेछन् ।
फिफाका निर्णायक विभाग प्रमुख पियरलुइगी कोलिनाले विश्वकप फाइनलजस्तो महत्वपूर्ण खेलका लागि अनुभवी र योग्य निर्णायकको छनोट गरिएको बताउँदै भिन्चिचको नियुक्तिले उनको सफल करियरको सम्मान गरेको प्रतिक्रिया दिएका छन् ।
फिफाका अनुसार भिन्चिचलाई सहायक निर्णायकका रूपमा तोमाज क्लान्चनिक र आन्द्राज कोभाचिचले साथ दिनेछन् । अधाम मुखादमेह चौथो निर्णायक तथा मोहम्मद अल्कालाफ वैकल्पिक सहायक निर्णायक रहनेछन् । भिन्चिचका लागि यो पहिलो विश्वकप फाइनल हुनेछ । उनले सन् २०२२ को कतार विश्वकपबाट विश्वकपमा निर्णायकको यात्रा सुरु गरेका थिए । त्यसयता उनले विश्वकपमा पाँच खेल सञ्चालन गरिसकेका छन् भने फाइनल उनको विश्वकप करियरको छैटौँ खेल हुनेछ । भिन्चिचले यसअघि युरोपेली च्याम्पियन्स लिगको सन् २०२४ को फाइनल, युरोपेली च्याम्पियनसिप, विश्वकप छनोट, युरोपा लिग, नेसन्स लिग तथा क्लब विश्वकपजस्ता प्रतिष्ठित प्रतियोगितामा पनि निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।
यसपटकको विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन आमनेसामने हुँदैछन् । ८० हजारभन्दा बढी दर्शक उपस्थित हुने अपेक्षा गरिएको फाइनलमा लियोनेल मेसीको कप्तानीमा अर्जेन्टिनाले लगातार दोस्रो पटक फाइनल यात्रा तय गरेको हो । यता, स्पेन सन् २०१० पछि पहिलो पटक विश्वकपको उपाधि भिडन्तमा पुगेको छ । सन् २०१० मा विश्वकप जितेको स्पेन दोस्रो उपाधिको खोजीमा रहनेछ भने अर्जेन्टिना चौथो विश्वकप उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ। अर्जेन्टिना यसअघि सन् १९७८, १९८६ र २०२२ मा विश्व विजेता बनेको थियो ।
विश्वकपको इतिहासमा यी दुई टोलीबीच यसअघि एकपटक मात्र भेट भएको छ । सन् १९६६ को विश्वकपमा अर्जेन्टिनाले स्पेनलाई २-१ गोलले पराजित गरेको थियो।









