• २०८३ श्रावण १ शुक्रबार

कस्तो छ स्पेन र अर्जेन्टिनाबीचको हेड टू हेड ?

कस्तो छ स्पेन र अर्जेन्टिनाबीचको हेड टू हेड ?

काठमाडौँ । फिफा विश्वकप फुटबलको उपाधिका लागि आइतबार राति स्पेन र अर्जेन्टिना आमनेसामने हुने भएका छन् । अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ रङ्गशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि शुरु हुने छ ।

स्पेन र अर्जेन्टिनाबीच हालसम्म १४ पटक प्रतिस्पर्धा भएको छ । तीमध्ये दुवैले समान ६-६ खेल जितेका छन् भने दुई खेल बराबरीमा सकिएका छन् । त्यसैले विश्वकपको फाइनलसँगै यी दुई राष्ट्रबीचको समग्र अग्रता पनि तय हुनेछ ।

विश्वकपमा भने स्पेन र अर्जेन्टिनाबीच हालसम्म एकपटक मात्र भेट भएको थियो । सन् १९६६ को समूह चरणमा अर्जेन्टिनाले स्पेनलाई २-१ ले हराएको थियो । त्यस खेलमा लुइस आर्तिमेले अर्जेन्टिनाका लागि दुई गोल गरेका थिए भने स्पेनका लागि पिर्रीले एक गोल फर्काएका थिए । त्यस संस्करणमा स्पेन समूह चरणबाटै बाहिरिएको थियो भने अर्जेन्टिना क्वार्टरफाइनलसम्म पुगेको थियो ।

यसपटक अर्जेन्टिना लगातार दोस्रो तथा समग्र चौथो विश्वकप उपाधिको खोजीमा छ । यदि उपाधि जित्न सफल भए अर्जेन्टिना सन् १९५८ र १९६२ मा लगातार विश्वकप जितेको ब्राजिलपछि लगातार दुई विश्वकप जित्ने पहिलो पुरुष टोली बन्नेछ ।

यता स्पेन भने सन् २०१० पछि दोस्रो पटक विश्वविजेता बन्ने लक्ष्यमा मैदान उत्रिनेछ । प्रतियोगिताभर स्पेनको रक्षापङ्क्ति निकै मजबुत देखिएको छ । सात खेलमा स्पेनले एक गोल मात्र बेहोरेको छ ।

यस फाइनलको अर्को विशेष आकर्षण लियोनल मेसी र लामिन यमालबीच पहिलो प्रतिस्पर्धा पनि हुनेछ । प्रतियोगितामा मेसीले सात खेलमा आठ गोल गरिसकेका छन् । १९ वर्षीय यमाल भने पहिलोपटक विश्वकप खेल्दै विश्वविजेता बन्ने अवसरको संघारमा छन् ।

स्पेन र अर्जेन्टिनाबीच पछिल्लो भेट सन् २०१८ मा भएको थियो । त्यसबेला स्पेनले अर्जेन्टिनालाई ६-१ ले पराजित गरेको थियो । त्यसयता दुवै टोलीमा ठूलो परिवर्तन आएको छ । अर्जेन्टिनाले दुई पटक दक्षिण अमेरिकी च्याम्पियनसिप र एक विश्वकप जितिसकेको छ भने स्पेनले युरोपेली च्याम्पियनसिपको उपाधि जितेको छ ।

सेमिफाइनलमा अर्जेन्टिनाले अन्तिम समयमा दुई गोल गर्दै इङ्ग्ल्यान्डलाई २-१ ले हराएर फाइनल यात्रा तय गरेको थियो । स्पेनले भने फ्रान्सलाई २-० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

विश्व फुटबलका दुई शक्तिशाली राष्ट्रबीच हुने यो फाइनल केवल उपाधिका लागि मात्र नभई दशकौँदेखि बराबरीमा रहेको प्रतिस्पर्धात्मक इतिहासको फैसला पनि हुनेछ । विजेता टोलीले विश्व फुटबलको सर्वोच्च सम्मानसँगै दुई राष्ट्रबीचको आमनेसामनेको इतिहासमा पनि अग्रता कायम गर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै