• २०८३ श्रावण ३ आइतबार

विश्वकपको फाइनल अघि भव्य समापन कार्यक्रम, को को सहभागी हुदैछन् ?

विश्वकपको फाइनल अघि भव्य समापन कार्यक्रम, को को सहभागी हुदैछन् ?

काठमाडौँ । विश्वकै सबैभन्दा ठूलो खेल आयोजना फिफा विश्वकप अब ऐतिहासिक समापनतर्फ अघि बढेको छ ।

आइतबार राति न्युजर्सी रंगशालामा हुने फाइनल खेलअघि भव्य समापन समारोह आयोजना गरिने भएको छ । यस समारोहमा प्रतियोगिताका क्रममा तीन आयोजक देश र १६ आयोजक सहरमा सहभागी भएका ४८ टोलीको यात्राको सम्झना गरिनेछ ।

फाइनलमा साविक विजेता अर्जेन्टिना र स्पेनबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । खेल सुरु हुनुअघि दर्शकका लागि विशेष सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिनेछ । फाइनल खेलमा फुटबलसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिसमेत मुख्य आकर्षण बन्ने भएको छ । ह्वाइट हाउसले ट्रम्प न्यु जर्सी रंगशालामा पुगेर फाइनल खेल हेर्ने र विजेता टोलीलाई विश्वकप ट्रफी प्रदान गर्ने पुष्टि गरेको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्प खेलअघि ट्रम्प टावरमा फिफाका प्रतिनिधिहरूसँग विशेष कार्यक्रममा सहभागी हुने जानकारी दिएकी छन् । त्यसपछि उनी रंगशाला पुगेर उपाधि भिडन्त अवलोकन गर्नेछन् । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पनि ट्रम्पले विजेता टोलीका कप्तानलाई विश्वकप ट्रफी प्रदान गर्ने बताएका छन् । त्यसैले खेलसँगै पुरस्कार वितरण समारोहमा पनि विश्वको ध्यान केन्द्रित हुनेछ ।

समापन समारोहमा संगीत र मनोरञ्जन क्षेत्रका चर्चित कलाकारहरूको प्रस्तुति रहने बताइएको छ । हलिउड अभिनेता टम क्रुज, लौरा पाउजिनी, रोबी विलियम्स र आई शो स्पिडलगायतका कलाकार मुख्य आकर्षणका रूपमा सहभागी हुनेछन् । यो भव्य कार्यक्रम ‘बेलिच वन्डर स्टुडियो’सँगको सहकार्यमा आयोजना गरिँदैछ ।

पुरस्कार विजेता गायिका जेनिफर हडसनले फाइनल खेलअघि अमेरिकाको राष्ट्रगान प्रस्तुत गर्नेछिन् । उनी एमी, ग्रामी, अस्कर र टोनी पुरस्कार जितिसकेकी कलाकार हुन् ।

फिफा विश्वकपका मुख्य सञ्चालन अधिकृत हेइमो शिरगीले उद्घाटन समारोहको भावनालाई निरन्तरता दिँदै समापन समारोहमा संगीत, संस्कृति र फुटबलको माध्यमबाट प्रतियोगिताको अन्त्य गरिने बताएका छन् । त्यसपछि विश्वकप विजेताको टुंगो लगाउने बहुप्रतीक्षित फाइनल खेल सुरु हुनेछ ।

फाइनल खेलको मध्यान्तर कार्यक्रममा ‘कोल्डप्ले’ का मुख्य गायक क्रिस मार्टिनले नेतृत्व गर्नेछन् । कार्यक्रममा पाँच प्रमुख कलाकारले प्रस्तुति दिनेछन् । क्यानडाका चर्चित गायक जस्टिन बिबरले यस कार्यक्रममा प्रस्तुति दिनेछन् । उनले कोचेला महोत्सवपछि पहिलो पटक यस्तो ठूलो मञ्चमा प्रस्तुति दिन लागेका हुन् ।

अमेरिकी गायिका म्याडोनाले पनि कार्यक्रममा प्रस्तुति दिनेछिन् । उनले फेडसँग मिलेर सार्वजनिक गरेको ‘रिड माई लिप्स’ गीत फिफा विश्वकपको आधिकारिक सङ्ग्रहको हिस्सा रहेको छ । कोलम्बियाकी चर्चित गायिका शकीरा पनि मध्यान्तर कार्यक्रमको हिस्सा बन्नेछिन् । उनले यसअघि उद्घाटन समारोहमा समेत प्रस्तुति दिएकी थिइन् । उनको बर्नबेसँगको गीत ‘दाई दाई’ विश्वकपको आधिकारिक गीत रहेको छ ।

लस एन्जलस फिलहारमोनिकका संगीत निर्देशक गुस्ताभो डुडामेल पनि कार्यक्रममा सहभागी हुनेछन् भने दक्षिण कोरियाको चर्चित सांगीतिक समूह ‘बीटीएस’ ले समेत आफ्नो प्रस्तुति दिने बताइएको छ । अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकपको फाइनल खेल नेपाली समयअनुसार आइतबार राति १२: ४५ बजेदेखि सुरु हुनेछ । त्यसअघि समापन समारोह करिब डेढ घण्टाअघि सुरु हुनेछ । समापन समारोहपछि फाइनल खेल सुरु हुनेछ भने मध्यान्तर समयमा करिब २५ मिनेट लामो विशेष कार्यक्रमसमेत आयोजना गरिने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै