काठमाडौँ । आन्तरिक आय संकलनतर्फ काठमाडौँ महानगरपालिकाको प्रवृत्ति विगत ६ वर्षमा उत्साहजनक देखिएको छ । आर्थिक वर्ष २०७७/७८ देखि २०८२/०८३ सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा राजस्व सङ्कलनको दायरा र परिमाण दुवैमा विस्तार भएको देखिएको हो ।
काठमाडौँ महानगरपालिकाको राजस्व विभागले, आर्थिक ऐन २०८३ का बारेमा वडा सचिव र लेखामा काम गर्ने कर्मचारीका लागि आयोजना गरेको अभिमुखीकरणमा विभागका प्रमुख दिपक अधिकारीले तुलनात्मक विवरण प्रस्तुत गरेका हुन् । अभिमुखीकरणमा महाशाखा प्रमुख बिमला कोइरालाले, विगत वर्षहरुका करका दर, ती दरहरुका शीर्षकहरुमा गरिएको संशोधन तथा वार्षिक लक्ष्यका विषयमा प्रस्तुतिकरण गरेका थिए ।
विभागका प्रमुख अधिकारीले दिएको तुलनात्मक विवरण अनुसार, आर्थिक वर्ष २०७७/०७८ मा १० अर्ब ६४ करोड रुपियाँ कुल राजस्व सङ्कलन भएकोमा आर्थिक वर्ष २०८२/०८३ मा यो रकम वृद्धि भई १२ अर्ब ४ करोड रुपियाँ पुगेको छ । पछिल्लो ६ वर्षको अवधिमा सङ्कलित यो नै सबैभन्दा उच्च राजस्व हो ।
बहाल करमा निकै ठूलो फड्को
विगत ६ वर्षको तथ्याङ्क हेर्दा महानगरपालिकाको मुख्य आयस्रोतका रूपमा ‘घरबहाल कर’ स्थापित भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ६१ करोड रुपियाँ सङ्कलन भएको बहाल कर आर्थिक वर्ष २०८२/०८३ सम्म आइपुग्दा १३० प्रतिशतभन्दा बढीले वृद्धि भई ३ अर्ब ९५ करोड रुपियाँ पुगेको छ । त्यसैगरी सम्पत्ति कर तर्फ पनि निरन्तर वृद्धि देखिएको छ । ६ वर्ष अघि ७५ करोड ३८ लाख सङ्कलन भएकोमा अघिल्लो वर्ष १ अर्ब १९ करोड रुपैयाँ सङ्कलन भएको छ ।
व्यावसाय कर र सिफारिस दस्तुरमा सुधार
व्यावसायिक गतिविधिमा भएको विस्तारसँगै व्यवसाय करमा पनि सुधार आएको छ । आ. व. २०७७/०७८ मा ३५ करोड ५३ लाख रुपियाँ रहेको व्यवसाय कर आव २०८२/०८३ मा ६९ करोड १ लाख पुगेको छ । सिफारिस दस्तुर तर्फ पनि ४ करोड ८९ लाख रुपियाँबाट वृद्धि भई ९ करोड ८८ लाख रुपियाँ पुगेको छ ।
नक्सापास दस्तुर र सवारी साधन करमा गिरावट
केही शीर्षकहरूमा भने राजस्व सङ्कलन घटेको छ । नक्सापास दस्तुरमा ठुलो उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ५३ करोड ३८ लाख रुपियाँ राजस्व संकलन भएको थियो । २०७९/०८० मा भवनहरुको अभिलेखन प्रक्रिया गरिएकोले नक्सापास दस्तुर बापत १ अर्ब १ करोड रुपियाँ सङ्कलन भएको भयो । भवनको अभिलेखन रोकिएको र सहरमा भवन निर्माण गर्ने स्थान कम हुँदै गएपछि आर्थिक वर्ष २०८२/०८३ मा यस शीर्षकमा आयको आकार घटेर ३९ करोड ३१ लख रुपियाँमा सीमित भएको छ ।
यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने सवारी साधन कर तर्फ पनि आ. व. २०७९/०८० मा ४३ करोड १८ लाख प्राप्त भएकोमा गत आ. व. मा २० करोड ६२ लाख रुपियाँ मात्र प्राप्त भएको छ ।
अनुदानको अवस्था
सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान र ससर्त अनुदानमा भने खासै ठूलो फेरबदल देखिएको छैन । समानीकरण अनुदान वार्षिक ७० देखि ८० करोड रुपियाँको हाराहारीमा रहँदै आएको छ भने ससर्त अनुदान (चालु) तर्फ १ अरब ६७ करोड रुपियाँ प्राप्त भएको छ । जुन, ६ वर्ष अघिको तुलनामा २५ करोड बढी हो ।
लक्ष्य र प्रगति
महानगरले हरेक वर्ष राजस्वको लक्ष्य बढाउँदै लगेको देखिन्छ । आर्थिक वर्ष २०७७/०७८ मा १० अरब ७६ करोड रुपियाँको लक्ष्य राखेकोमा आर्थिक वर्ष २०८२/०८३ मा १५ अरब ११ करोड रुपियाँ पुर्याएको छ । अघिल्लो वर्ष लक्ष्यको तुलनामा प्रगति प्रतिशत करिब ७९ प्रतिशत रहे पनि सङ्कलनको कुल अङ्क भने अघिल्ला वर्षहरूको तुलनामा उच्च रहेको तथ्याङ्कले देखाउँछ ।
आ. व. २०८२/०८३ को प्रगति ७९ प्रतिशत
घरजग्गा रजिस्ट्रेसनमा उत्साहजनक वृद्धि
अभिमुखीकरणमा विभागका प्रमुख दिपक अधिकारीले जनप्रतिनिधिको अगुवाईमा कर प्रशासनमा काम गर्ने केन्द्र र वडाका कर्मचारीहरुको निरन्तर प्रयासबाट आ. व. २०८२/०८३ मा कुल राजस्व लक्ष्यको करिब ७९ प्रतिशत प्रगति हासिल गरेको जानकारी दिनुभयो । उहाँका अनुसार २०८२ साल साउन १ गतेदेखि २०८३ असार मसान्तसम्मको तथ्याङ्कअनुसार, १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपियाँको वार्षिक लक्ष्य राखिएकोमा १२ अर्ब ४ करोड ३३ लाख ८५ हजार रुपैयाँ सङ्कलन भएको हो ।
महानगरपालिकाको राजस्वको मुख्य स्रोत मानिने घरबहाल कर र सम्पत्ति करमा मिश्रित प्रगति देखिएको छ । ६ अर्ब २५ करोड रुपियाँ लक्ष्य राखिएको घरबहाल कर तर्फ ३ अर्ब ९५ करोड रुपियाँ सङ्कलन भएको छ भने १ अर्ब ७० करोड लक्ष्य रहेको सम्पत्ति करमा १ अर्ब १९ करोड रुपियाँ प्राप्त भएको छ ।
घरजग्गा रजिष्ट्रेसनमा लक्ष्यभन्दा बढी सङ्कलन
यस आर्थिक वर्षमा घरजग्गा रजिस्ट्रेसन दस्तुर तर्फको सङ्कलन भने निकै उत्साहजनक देखिएको छ । १ अर्ब ६४ करोड रुपियाँ लक्ष्य तोकिएकोमा २ अर्ब ९ करोड रुपियाँ सङ्कलन गर्दै लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ । घरजग्गा कारोबारमा आएको बढोत्तरीका कारण यस शीर्षकमा अपेक्षित भन्दा राम्रो राजस्व प्राप्त भएको विश्लेषण गरिएको छ ।
अनुदान र अन्य शुल्कको अवस्था
सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान तर्फ ७९ करोड ९५ लाख लक्ष्य राखिएकोमा ६४ करोड ८६ लाख रुपियाँ प्राप्त भएको छ । यस्तै, ससर्त अनुदान (चालु) तर्फ भने लक्ष्यभन्दा बढी प्रगति देखिएको छ । १ अर्ब ५० करोड १९ लाख रुपियाँको लक्ष्य रहेकोमा १ अर्ब ६७ करोड रुपियाँ प्राप्त भएको छ । तर, ससर्त पुँजीगत (सङ्घ) तर्फ भने १४ करोड ३७ लाखको लक्ष्य राखिए पनि प्रगति शून्य देखिएको छ ।
अन्य प्रमुख शीर्षकहरूमा व्यवसाय कर तर्फ १ अर्बको लक्ष्यमा ६९ करोड १ लाख सङ्कलन भएको छ । नक्सापास दस्तुर तर्फ ५० करोडको लक्ष्यमा ३९ करोड ३१ लाख रुपियाँ सङ्कलन भएको विभागले जनाएको छ । यस्तै, सिफारिस दस्तुर बापत ९ करोड ८८ लाख रुपियाँ संकलन भएको छ ।
सवारी साधन करमा न्यून प्रगति
बागमती प्रदेश सरकारमार्फत बाँडफाँड हुने सवारी साधन कर तर्फ भने प्रगति न्यून देखिएको छ । ३९ करोड ९० लाख रुपियाँ राजस्व प्राप्त हुने लक्ष्य राखिएकोमा २० करोड ६२ लाख रुपियाँ मात्र प्राप्त भएको छ । मूल्य अभिवृद्धि कर र अन्तःशुल्क (संघ) तर्फ भने ३५ करोड ९४ लाखको लक्ष्यमा ३५ करोड ३० लाख रुपियाँ सङ्कलन भई लक्ष्यको नजिक पुगेको देखिन्छ ।









