काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । उनले वि.सं. २००६ साल वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र नरबहादुर कर्माचार्यसँग मिलेर भारतको कोलकातामा बसेर कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।
राणा विरोधी आन्दोलनका शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत रहेका श्रेष्ठ दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही बिरोधी आन्दोलनमा सक्रिय भएका थिए । छोरा राजनीतिमा लागेकै कारण पिता भक्तलाललको सुब्बाको जागिर खोसिएको थियो ।
नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेका थिए । उनले स्थापना गरेको कम्युनिष्ट पार्टी आल विभिन्न पार्टी र विचारमा विभाजित रहेको छ ।
विसं. १९८१ असार १५ गते रामेछापमा जन्मिएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा भएको थियो ।









