काठमाडौँ । दक्षिण भारतीय अभिनेता तथा तमिलनाडुका मुख्यमन्त्री थलापति विजय अभिनीत चलचित्र 'जन नायकन' बिहीबारदेखि प्रदर्शनमा आएको छ । निर्धारित मितिभन्दा करिब सात महिनापछि प्रदर्शनमा आएको यो चलचित्रलाई विजयका समर्थकहरूले उत्सवकै रूपमा स्वागत गरेका छन् ।
समाचार संस्था पीटीआईका अनुसार चलचित्र प्रदर्शनको अवसरमा तमिलनाडुका विभिन्न सहरका चलचित्र हलहरूमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् । चेन्नईस्थित वुडल्यान्ड्स र क्यासिनो लगायतका चलचित्र हलमा आकर्षक प्रकाश सजावट, नृत्य तथा सांगीतिक प्रस्तुति गरिएको थियो । रातिको आकाशमा लेजर प्रकाश प्रदर्शन गरिनुका साथै समर्थकहरू विजयका गीतमा नाचेर उत्सव मनाएका थिए ।
बिहीबारदेखि चलचित्र प्रदर्शनमा आएपछि पनि विभिन्न हलमा दर्शकको उल्लेख्य भीड देखिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा पर्दामा विजय देखिनेबित्तिकै दर्शकहरू खुसीले नाचेको र ताली बजाउँदै स्वागत गरेको दृश्य देख्न सकिन्छ ।
'जन नायकन' लाई अभिनेता विजयको अन्तिम चलचित्रका रूपमा हेरिएको छ । उनी अहिले पूर्ण रूपमा राजनीतिमा सक्रिय छन् र तमिलनाडुको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् । त्यसैले पनि यो चलचित्रप्रति समर्थक र दर्शकको विशेष आकर्षण देखिएको हो ।
चलचित्र हेर्नका लागि दर्शकहरू बुधबार साँझदेखि नै चलचित्र हलमा जम्मा हुन थालेका थिए । रातभरि समर्थकहरूले नाचगान गर्दै उत्सव मनाएका थिए भने विजयको राजनीतिक दल तमिलगा वेत्री कझगम का झण्डासमेत फहराइएको थियो ।
निर्देशक एच. विनोदको निर्देशन रहेको यस चलचित्रमा विजयसँगै बबी देओल, पूजा हेग्डे र प्रकाश राजको पनि प्रमुख भूमिका रहेको छ ।
पीटीआईका अनुसार केरलको वायनाडमा पनि चलचित्र हेर्न ठूलो संख्यामा दर्शक जम्मा भएका छन्। त्यहाँ बिहान ६ बजेदेखि विशेष प्रदर्शन सुरु गरिएको थियो ।
विजयको समर्थनमा यसअघि विधानसभा निर्वाचन प्रचारका क्रममा देखिएको उत्साह चलचित्र प्रदर्शनका बेला पनि दोहोरिएको छ। समर्थकहरू कार र मोटरसाइकलमा विजयका पोस्टर तथा ब्यानर बोकेर समूहमा निस्किएका थिए, जसले र्यालीको झल्को दिएको थियो ।
मुख्यमन्त्री विजयले बुधबार साँझ केही सरकारी अधिकारीहरूसँग चलचित्रको विशेष प्रदर्शनसमेत हेरेका थिए । चलचित्र प्रदर्शनको अवसरमा विजयका विशाल कटआउट र होर्डिङहरू राखिएका थिए, जसले सबैको ध्यान आकर्षित गरेको बताइएको छ ।









