• २०८३ श्रावण ८ शुक्रबार

आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक व्यापार १५.८८ प्रतिशतले बढ्यो, व्यापार घाटा १७ खर्ब नाघ्यो

आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक व्यापार १५.८८ प्रतिशतले बढ्यो, व्यापार घाटा १७ खर्ब नाघ्यो

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भए पनि आयातको तुलनामा निर्यात कमजोर रहँदा व्यापार घाटा अझै बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार कुल वैदेशिक व्यापार १५.८८ प्रतिशतले वृद्धि भएर २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

तथ्यांकअनुसार गत एक बर्षमा नेपालले २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६.२० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कुल आयात १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ बराबर रहेको थियो ।

यस्तै, आर्थिक वर्ष २०८२/८३ मा ३ खर्ब १५ अर्ब २९ करोड ४७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । निर्यात अघिल्लो वर्षको तुलनामा १३.८१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा नेपालबाट २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

तर आयातको वृद्धि दर निर्यातभन्दा उच्च भएकाले व्यापार घाटा थप फराकिलो बनेको छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा व्यापार घाटा १७ खर्ब ८१ अर्ब ८ करोड ८६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६.६३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा व्यापार घाटा १५ खर्ब २७ अर्ब ९२ करोड ५३ लाख रुपैयाँ रहेको थियो ।

रिपोर्टमा नेपालको वैदेशिक व्यापार अझै पनि आयातमुखी रहेको स्पष्ट देखाएको छ । समीक्षा अवधिमा आयात–निर्यात अनुपात ६.६५ पुगेको छ। अर्थात् नेपालले एक रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा करिब ६ रुपैयाँ ६५ पैसा बराबरको वस्तु आयात गरेको देखिन्छ । यो अनुपात अघिल्लो वर्षको ६.५१ को तुलनामा केही बढेको हो ।

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३.०७ प्रतिशत मात्र रहेको छ, जुन अघिल्लो वर्षको १३.३१ प्रतिशतबाट घटेको हो । विपरीत रूपमा आयातको हिस्सा ८६.९३ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ८६.६९ प्रतिशतभन्दा केही बढी हो । यसले नेपालको वैदेशिक व्यापारमा आयातको निर्भरता अझै कायम रहेको संकेत गर्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै