• २०८३ श्रावण १० आइतबार

आज यी सडक अवरुद्ध

आज यी सडक अवरुद्ध

काठमाडौँ । लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्ग प्रभावित भएका छन् । पछिल्लो विवरणअनुसार केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने बाढीको जोखिमका कारण केही राजमार्गमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। अर्को सूचना जारी नभएसम्म यो व्यवस्था लागू रहनेछ भने बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म सवारीसाधन सञ्चालन हुने जनाइएको छ ।

यस्तै, मकवानपुरको कान्ति लोकपथ मा पनि वर्षाका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यो निर्णय पनि अर्को सूचना नभएसम्म कायम रहने प्रहरीले जनाएको छ ।

उता, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलो भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। सो क्षेत्रमा वैकल्पिक सडक प्रयोग गर्न सकिने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको अरनिको राजमार्ग दुई स्थानमा पहिरोका कारण अवरुद्ध भएको छ। भोटेकोशी गाउँपालिका–४ जिरोकिलो क्षेत्रमा सडकमाथिबाट पहिरो खसेपछि राजमार्ग बन्द भएको हो। त्यसैगरी भोटेकोशी गाउँपालिका–२ कोदारी क्षेत्रमा ढुंगा, माटो र लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको छ ।

दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामाबगर–रामेछाप सडकखण्ड सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि पूर्ण रूपमा बन्द भएको छ। यद्यपि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसरबाट वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको छ ।

रसुवामा पनि वर्षाले सडक सञ्जालमा असर परेको छ। गोसाइँकुण्ड गाउँपालिका–३ कुलुङ क्षेत्रमा लेदो सहितको पहिरो खसेपछि पासाङ ल्हामु राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। साथै उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकसमेत बन्द भएको छ ।

यसैबीच, मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ चैलेस्थित घ्याकर खोलामा लेदोसहितको पानीको बहाव बढेपछि जोमसोम–कोरला सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीले प्रभावित सडकखण्डमा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्था बुझ्न, मौसमको जानकारी लिन तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै