• २०८३ श्रावण १० आइतबार

भारतमा पहिलो पटक डेंगुविरुद्धको खोपलाई स्वीकृति

भारतमा पहिलो पटक डेंगुविरुद्धको खोपलाई स्वीकृति

काठमाडौँ । भारतले पहिलो पटक डेंगुविरुद्ध प्रयोग हुने क्युडेङ्गा नामक खोपलाई प्रयोगका लागि स्वीकृति दिएको छ । भारतको औषधि नियामक निकायले क्युडेङ्गा खोपलाई स्वीकृति दिएको हो । यो खोप डेंगु भाइरसका चारै प्रकारविरुद्ध शरीरमा प्रतिरक्षा क्षमता विकास गर्न तयार गरिएको जनाइएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२४ मा विश्वभर एक करोड ४६ लाखभन्दा बढी डेंगुका बिरामी फेला परेका थिए, जुन एक वर्षमै सबैभन्दा धेरै संख्या हो । भारतमा मात्रै सन् २०२५ मा एक लाख २१ हजारभन्दा बढी संक्रमित भेटिएका थिए भने १३१ जनाको मृत्यु भएको थियो ।

क्युडेङ्गा डेंगुविरुद्धको चार प्रकारका भाइरसविरुद्ध सुरक्षा दिने खोप हो । यसले डेंगुका सबै प्रकारका भाइरसविरुद्ध प्रतिरक्षा क्षमता विकास गर्नुका साथै गम्भीर डेंगु हुने जोखिम पनि घटाउने दाबी गरिएको छ । यो खोप जापानको औषधि कम्पनी ताकेडाले लामो अनुसन्धान र विभिन्न चरणका चिकित्सकीय परीक्षणपछि विकास गरेको हो ।

भारतअघि यो खोपलाई विश्वका ४२ देशले स्वीकृति दिइसकेका छन् । युरोपेली सङ्घका सदस्य राष्ट्र, बेलायत, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया र थाइल्यान्डलगायत देशमा यसको प्रयोग भइरहेको छ ।

विश्व स्वास्थ्य संगठनले पनि डेंगुको उच्च जोखिम भएका देश तथा क्षेत्रमा यो खोप प्रयोग गर्न समर्थन जनाएको छ । संगठनका अनुसार यस्ता क्षेत्रमा खोप लगाउनुअघि सबै व्यक्तिमा डेंगु परीक्षण गर्नु आवश्यक पर्दैन ।

विश्व स्वास्थ्य संगठनबाट गुणस्तर, सुरक्षा र प्रभावकारिताको अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको प्रमाणपत्रसमेत यो खोपले प्राप्त गरिसकेको छ ।

कम्पनीका अनुसार खोपमाथि विश्वभर पहिलो, दोस्रो र तेस्रो चरण गरी १९ वटा चिकित्सकीय परीक्षण गरिएको थियो । ती परीक्षणमा करिब २८ हजार व्यक्ति सहभागी थिए ।

भारतमा सन् २०२४ मार्चदेखि २०२५ मेसम्म तेस्रो चरणको परीक्षण गरिएको थियो, जसमा ४८० जना सहभागी थिए । परीक्षण भारतसहित ब्राजिल, कोलम्बिया, डोमिनिकन गणराज्य, निकारागुवा, पानामा, फिलिपिन्स, श्रीलङ्का र थाइल्यान्डमा गरिएको थियो । यो खोपमा डेंगु भाइरसको कमजोर बनाइएको जीवित स्वरूप प्रयोग गरिएको छ । यसले रोग उत्पन्न नगरे पनि शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउँछ ।

खोप लगाएपछि शरीरमा डेंगुविरुद्ध प्रतिरोधी तत्व र दीर्घकालीन प्रतिरक्षा स्मरण क्षमता विकास हुन्छ । त्यसपछि भविष्यमा डेंगु भाइरस शरीरमा प्रवेश गरेमा प्रतिरक्षा प्रणालीले छिट्टै पहिचान गरी संक्रमणको प्रभाव कम गर्न सहयोग गर्छ ।

भारतमा यो खोप ४ देखि ६० वर्ष उमेर समूहका लागि स्वीकृत गरिएको छ । पहिले डेंगु भइसकेका र कहिल्यै डेंगु नभएका दुवै व्यक्तिले यो खोप लगाउन सक्ने जनाइएको छ । पूर्ण खोपका लागि दुई मात्रा आवश्यक हुन्छ । पहिलो र दोस्रो मात्राबीच करिब तीन महिनाको अन्तर राखिनेछ । हालसम्म यसका लागि अतिरिक्त मात्रा आवश्यक पर्ने सिफारिस गरिएको छैन ।

चिकित्सकीय परीक्षणका अनुसार खोपको दुई मात्रा लगाएपछि १८ महिनासम्म डेंगुका कारण अस्पताल भर्ना हुनुपर्ने जोखिम करिब ९० प्रतिशतले घटेको देखिएको छ । साढे चार वर्षपछि पनि यो जोखिम ८४ प्रतिशतसम्म कम रहेको पाइएको छ ।

यद्यपि विज्ञहरूले यो खोपले शतप्रतिशत सुरक्षा नदिने भएकाले खोप लगाएपछि पनि लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन आवश्यक रहेको बताएका छन् ।

अन्य खोपझैँ क्युडेङ्गा लगाएपछि पनि केही सामान्य दुष्प्रभाव देखिन सक्छन् । खोप लगाएको स्थानमा दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने वा थकान महसुस हुनेजस्ता लक्षण देखिन सक्छन् । यस्ता असर प्रायः एकदेखि तीन दिनभित्र आफैँ निको हुने चिकित्सकहरूले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै