काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार बसेका मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् ।
बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा खेट राज दाहाल, सिन्धुलीलाई मनोनयन गर्ने र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले देहायका विधेयकहरू संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरको छ:
(क) संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक ।
(ख) खानी तथा खनिज पदार्थसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ।
(ग) सङ्क्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।
(घ) राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक ।
(ङ) मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक ।
(च) बालश्रम (निषेध तथा नियमित गर्ने) सम्बन्धी विधयेक ।
(छ) आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।
(ज) मेलमिलाप सम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक ।
(झ) कर्मचारी संचयकोष ऐन, २०१९ लाई संसोधन गर्न बनेको विधेयक ।









