काठमाडौँ । बलिवुडको बहुप्रतीक्षित चलचित्र ‘रामायण’ को ट्रेलर सार्वजनिक भएको छ ।
करिब चार मिनेट लामो ट्रेलरमा यश, रणबीर कपूर, साई पल्लवी, रवि दुबे, अरुण गोविल, लारा दत्ता, रकुल प्रीत सिंह र विवेक ओबेरोयसहित अधिकांश प्रमुख कलाकारको झलक देखाइएको छ । विशेषगरी रावणको भूमिकामा दक्षिण भारतीय अभिनेता यशको प्रस्तुति लामो समयदेखि प्रतीक्षामा रहेका दर्शकमाझ निकै चर्चामा आएको छ ।
ट्रेलरको सुरुवात रावणको परिचयबाट हुन्छ । तीनै लोकका शक्तिशाली शासकका रूपमा देखाइएका यश जटाधारी र भव्य रूपमै विशाल सेनासँग एक्लै युद्ध गरिरहेको दृश्यमा प्रस्तुत छन् । त्यसपछि पृथ्वीमा बढ्दो अधर्म र रावणको अहंकार अन्त्य गर्न भगवान विष्णुले श्रीरामका रूपमा अवतार लिने कथा देखाइएको छ ।
रावणपछि श्रीरामका रूपमा रणबीर कपूरको परिचय प्रस्तुत गरिएको छ । यसअघि उनको स्वरूप सार्वजनिक भइसके पनि ट्रेलरमा उनको पात्र अझ प्रभावशाली रूपमा देखिएको छ । शान्त, संयमित र मर्यादित श्रीरामको चरित्रमा रणबीरलाई युवा अवस्थादेखि विभिन्न चरणमा प्रस्तुत गरिएको छ ।
ट्रेलरमा सीताको भूमिकामा साई पल्लवी र लक्ष्मणका रूपमा रवि दुबे देखिएका छन् । शूर्पणखाको भूमिकामा रकुल प्रीत सिंहको पनि झलक समावेश गरिएको छ भने लक्ष्मणले शूर्पणखाको नाक काट्ने दृश्य पनि समेटिएको छ ।
चलचित्रको पृष्ठभूमि सङ्गीत विश्वप्रसिद्ध सङ्गीतकार हान्स जिम्मर र ए.आर. रहमानले तयार पारेका छन् । ट्रेलरमै उनीहरूको सङ्गीतले चलचित्रको भव्यता झल्काउने प्रयास गरेको देखिन्छ । त्यस्तै, इन्द्रको ऐरावत, विशाल जटायु लगायतका दृश्यलाई आधुनिक दृश्य प्रभाव प्रविधिमार्फत आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।
यद्यपि ट्रेलरमा हनुमानको भूमिकामा रहेका सन्नी देओललाई भने समावेश गरिएको छैन । निर्माण पक्षका अनुसार उनले हालै मात्र चलचित्रको छायाङ्कन सुरु गरेका हुन् र उनको भूमिका दोस्रो भागमा बढी महत्वपूर्ण रहनेछ ।
निर्माण टोलीले सुरुमा ट्रेलर जुलाई २४ मा सार्वजनिक गर्ने योजना बनाएको थियो । त्यसबेला यश र रणबीर अमेरिका पुगेका थिए, जहाँ आयोजित मनोरञ्जन प्रदर्शनीमा ट्रेलर प्रदर्शन गर्ने तयारी थियो । पछि चलचित्र वितरणसम्बन्धी नयाँ सहमतिपछि ट्रेलरलाई ‘स्पाइडर म्यानः ब्रान्ड न्यू डे’ को प्रदर्शनसँग जोड्ने निर्णय गरिएको बताइएको छ । ट्रेलर अनधिकृत रूपमा सार्वजनिक हुने सम्भावना बढेपछि निर्माण पक्षले जुलाई ३० को बिहान ब्रह्ममुहूर्तमै यसलाई औपचारिक रूपमा सार्वजनिक गरेको हो ।
रामायण फिल्म यस बर्षको दिपावलीमा रिलिज हुदैछ ।
ट्रेलर:









