• २०८३ श्रावण १४ बिहीबार

इङ्ग्ल्यान्डको टेस्ट टोलीको मुख्य प्रशिक्षकमा फ्लेमिङ, कप्तान बने रुट

इङ्ग्ल्यान्डको टेस्ट टोलीको मुख्य प्रशिक्षकमा फ्लेमिङ, कप्तान बने रुट

काठमाडौँ । न्युजील्यान्डका पूर्वकप्तान स्टेफन फ्लेमिङ इङ्ग्ल्यान्डको टेस्ट क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । साथै, अनुभवी ब्याट्सम्यान जो रुटलाई पुनः टेस्ट टोलीको कप्तानको जिम्मेवारी दिइएको छ ।

५३ वर्षीय फ्लेमिङले यसअघि कुनै पनि राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिएनन् । तर उनले १७ वर्षसम्म इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्सको मुख्य प्रशिक्षकका रूपमा काम गर्दै टोलीलाई कीर्तिमानी पाँच पटक उपाधि जिताएका छन् ।

यसअघिका टेस्ट प्रशिक्षक ब्रेन्डन म्याकुलमलाई लगातार कमजोर नतिजा र टोलीभित्रका केही विवादास्पद घटनापछि यसै महिना पदबाट हटाइएको थियो। यद्यपि उनी इङ्ग्ल्यान्डको एकदिवसीय र ट्वान्टी–२० टोलीका मुख्य प्रशिक्षकका रूपमा भने यथावत् रहनेछन् ।

३५ वर्षीय जो रुटले यसअघि सन् २०१७ देखि २०२२ सम्म टेस्ट टोलीको कप्तानी गरेका थिए । उनको कप्तानीमा इङ्ग्ल्यान्डले ६५ टेस्टमध्ये २७ खेल जित्दै सर्वाधिक टेस्ट जितको कीर्तिमान बनाएको थियो ।

नियुक्तिपछि फ्लेमिङले इङ्ग्ल्यान्डको टेस्ट टोलीको प्रशिक्षक बन्न पाउँदा आफू अत्यन्त उत्साहित भएको बताएका छन्। उनले विश्व क्रिकेटकै प्रतिष्ठित प्रशिक्षकीय जिम्मेवारी पाउनु आफ्नो लागि ठूलो सम्मान भएको प्रतिक्रिया दिएका छन् ।

फ्लेमिङ भने अगस्ट १९ देखि पाकिस्तानविरुद्ध सुरु हुने टेस्ट शृङ्खलामा टोलीसँग रहने छैनन्। उक्त शृङ्खलाका लागि सहायक प्रशिक्षक मार्कस ट्रेस्कोथिकले कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् ।

फ्लेमिङ केही समय परिवारसँग न्युजिल्यान्डमा बिताएपछि बेलायत पुगेर डिसेम्बरमा हुने दक्षिण अफ्रिका भ्रमणको तयारी सुरु गर्नेछन् ।

पुनः कप्तानीको जिम्मेवारी पाएका रुटले फ्लेमिङसँग काम गर्ने अवसर आफूका लागि ठूलो प्रेरणा भएको बताएका छन्। उनले फ्लेमिङ लामो समयदेखि उत्कृष्ट नेतृत्व क्षमता र खेलसम्बन्धी गहिरो ज्ञान भएका प्रशिक्षकका रूपमा स्थापित रहेको उल्लेख गर्दै उनीसँग मिलेर सफल टोली निर्माण गर्ने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै