सर्लाही । सर्लाही, लालबन्दी नगरपालिका –०१ स्थित जिल्ला ट्राफिक कार्यालय नवलपुर अगाडि १०९ केजी गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाही र इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको बीआर ०९ एम ३७६६ नम्बरको भारतीय कार रोकी चेकजाँच गर्ने क्रममा कारको डिक्कीमा लुकाइछिपाइ राखिएको २३ पोकामा प्याक गरिएको करिब १०९ केजी (प्लास्टिकसहित) लागूऔषध गाँजा बरामद गरिएको हो ।
कार चालक देश भारत, सितामढी जिल्ला समुद्र थाना क्षेत्रका २६ वर्षीय दीपक कुमार महतो तथा सोही कारमा सवार सोही ठेगाना भएका २५ वर्षीय अमन कुमारलाई पक्राउ गरिएको छ । हाल बरामद भएको गाँजा, कार तथा पक्राउ परेका व्यक्तिहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









