काठमाडौँ । जापानमा बढ्दो अत्यधिक गर्मीका कारण टोकियोस्थित तामा प्राणी उद्यानमा तीन वटा पोथी सिंहको मृत्यु भएको छ ।
तीनदेखि १५ वर्ष उमेरका ती सिंहको एक साताभित्र मृत्यु भएको हो । प्रारम्भिक शव परीक्षणमा शरीरमा पानीको गम्भीर कमी हुनुका साथै विभिन्न अङ्गले काम गर्न छाडेको देखिएकाले अत्यधिक गर्मी नै मृत्युको प्रमुख कारण भएको अनुमान गरिएको छ ।
प्राणी उद्यानका अनुसार तीन वर्षीया मुगी ले जुलाई १९ देखि खाना खान छाडेकी थिइन् र अर्को दिनदेखि उभिनसमेत नसक्ने भएकी थिइन् । उनलाई तरल पदार्थ, औषधि र भिटामिन दिई उपचार गरिए पनि जुलाई २८ मा मृत्यु भयो । त्यसपछि ११ वर्षीया इचिगो र १५ वर्षीया लुएनाको पनि केही दिनको अन्तरालमा मृत्यु भएको हो। हाल थप तीन सिंह बिरामी छन् र उनीहरूको उपचार जारी छ भने चार सिंहको स्वास्थ्यमा सुधार देखिएको छ ।
टोकियो विश्वविद्यालयका पशु चिकित्साशास्त्रका प्राध्यापक हिदेआकि कराकीका अनुसार अत्यधिक गर्मी र उच्च आर्द्रताले सिंहले शरीरको तापक्रम नियन्त्रण गर्न नसक्दा यस्तो अवस्था आएको हुन सक्छ । जुलाईको मध्यदेखि तापक्रम एक्कासि बढेकाले जनावरलाई नयाँ मौसमअनुसार शरीर अनुकूल बनाउन पर्याप्त समयसमेत नपाएको उनको भनाइ छ ।
सन् १९६४ देखि सिंह पालन गर्दै आएको तामा प्राणी उद्यानले गत महिना अत्यधिक गर्मीका कारण सिंह प्रदर्शन र विशेष सवारी सेवा स्थगित गरेको थियो। यसैबीच जापानमा गर्मीको लहर तीव्र बन्दै गएको छ। केही सहरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ भने जुलाई २० देखि सुरु भएको एक सातामै अत्यधिक गर्मीका कारण देशभर १८ हजारभन्दा बढी व्यक्ति अस्पताल भर्ना भएका छन्। सरकारले नागरिकलाई सतर्क रहन, पर्याप्त पानी पिउन र शरीर चिसो राख्न आग्रह गरेको छ।









