काठमाडौँ । युगान्डाका राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा स्पोर्ट्स क्लब भिल्लाका कप्तान डेभिड ओवोरीको राजधानी कम्पालामा लुटेराको आक्रमणमा मृत्यु भएको छ ।
२७ वर्षीय ओवोरीमाथि घरनजिकै मोबाइल फोन र अन्य सामान लुट्ने प्रयास गर्दा प्रतिरोध गरेपछि आक्रमण गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आक्रमणकारीहरूले ढुंगाले प्रहार गरी उनलाई गम्भीर घाइते बनाएका थिए । उपचारका लागि अस्पताल लगिए पनि बुधबार उनको मृत्यु भएको हो । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
ओवोरी युगान्डाको सबैभन्दा सफल क्लबमध्ये एक स्पोर्ट्स क्लब भिल्लाका कप्तान थिए । उनले सन् २०२४ मा क्लबलाई २० वर्षपछि लिग उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए भने राष्ट्रिय टोलीबाट पनि खेल्दै आएका थिए । उनको हत्यापछि युगान्डाभर शोक छाएको छ । फुटबल समर्थक, खेलकर्मी तथा राजनीतिक नेताहरूले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् ।









