• २०८३ श्रावण २१ बिहीबार

रुसका दुई तेल प्रशोधन केन्द्रमा युक्रेनको ड्रोन आक्रमण

रुसका दुई तेल प्रशोधन केन्द्रमा युक्रेनको ड्रोन आक्रमण

काठमाडौँ । युक्रेनले रुसका दुई वटा तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत युक्रेनी सेनाले रुसको यारोस्लाभस्थित स्लाभनेफ्ट-यानोस तेल प्रशोधन केन्द्र र बास्कोर्तोस्तानस्थित बास्नेफ्ट-नोभोइल तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको जानकारी दिएका हुन् ।

यसअघि युक्रेनी ड्रोन आक्रमणपछि यारोस्लाभ तेल प्रशोधन केन्द्रतर्फबाट कालो धुवाँ उठेको खबर सार्वजनिक भएको थियो । यारोस्लाभका गभर्नर मिखाइल एभ्राएभले क्षेत्रमा आक्रमण गर्न आएका युक्रेनी ड्रोन नष्ट गरिएको दाबी गरेका छन् । उनका अनुसार ड्रोनका भग्नावशेष खस्दा तीन वटा घरमा आगलागी भएको छ भने केही अपार्टमेन्टका झ्यालहरू फुटेका छन् । केही सवारीसाधनमा पनि क्षति पुगेको उनले बताएका छन् । घटनामा भएको मानवीय क्षतिको विवरण संकलन भइरहेको उनको भनाइ छ ।

जेलेन्स्कीले युक्रेनले ब्ल्याक सीमा रहेका रुसका दुई सैन्य गस्ती डुंगा तथा रुसको छायाँ जहाज समूहअन्तर्गतका केही पानीजहाजमा समेत आक्रमण गरेको दाबी गरेका छन् ।

यारोस्लाभस्थित स्लाभनेफ्ट–यानोस तेल प्रशोधन केन्द्र युक्रेनको सीमाबाट सयौँ किलोमिटर टाढा रहेको छ । सन् १९६१ मा स्थापना भएको यो केन्द्र रुसका पाँच ठूला तेल प्रशोधन केन्द्रमध्ये एक मानिन्छ ।

यो केन्द्रमा यसअघि पनि युद्धका क्रममा युक्रेनले आक्रमण गर्दै आएको छ । केन्द्रको विवरणअनुसार यहाँ वार्षिक करिब डेढ करोड टन कच्चा तेल प्रशोधन हुने गरेको छ । यहाँबाट सवारीसाधनका लागि इन्धन, विमानका लागि इन्धन तथा विभिन्न प्रकारका तेल उत्पादन गरिन्छ । उक्त तेल प्रशोधन केन्द्रमा करिब ३ हजार ५०० जना कर्मचारी कार्यरत रहेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै