• २०८३ श्रावण २४ आइतबार

‘टक्सिक' को ट्रेलर: अर्को एक्शन अवतारमा यश

‘टक्सिक' को ट्रेलर: अर्को एक्शन अवतारमा यश

काठमाडौँ । दक्षिण भारतीय अभिनेता यशको मुख्य भूमिका रहेको ठूलो बजेटको चलचित्र ‘टक्सिक : ए फेयरी टेल फर ग्रोन-अप्स’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रको कथा, दृश्यको भव्यता र अपराधको संसारलाई प्रस्तुत गरिएको देखिन्छ ।

चलचित्रले शक्ति, द्वन्द्व र व्यक्तिगत सम्बन्धबीचको जटिलतालाई केन्द्रमा राखेको संकेत गरेको छ । सार्वजनिक ट्रेलरमा हिंसा, बदलिँदो निष्ठा र एकअर्कासँग जोडिएका पात्रहरूको कथा देखाइएको छ ।

चलचित्रको मुख्य कथा राया र उनका छोरा टिकटबीचको सम्बन्धमा केन्द्रित रहेको देखिन्छ । दुवै पात्र एकअर्काको विपक्षमा उभिएको संकेत गरिएको छ। यही सम्बन्ध चलचित्रको मुख्य द्वन्द्व बन्ने देखिएको छ ।

यशसँगै नयनतारा, कियारा आडवाणी, तारा सुतारिया, रुक्मिणी वसन्त र हुमा कुरैसी चलचित्रमा प्रमुख भूमिकामा छन् । सार्वजनिक ट्रेलरमा यी पात्रका केही दृश्य देखाइए पनि चलचित्रको वास्तविक कथाबारे धेरै विवरण गोप्य राखिएको छ ।

चलचित्रको निर्देशन गीतु मोहनदासले गरेकी छन् । चलचित्रमा गाढा दृश्य, विस्तृत सजावट र योजनाबद्ध द्वन्द्वका दृश्यलाई विशेष महत्व दिइएको देखिन्छ । यशले राया र टिकट गरी दोहोरो भूमिका निर्वाह गरेको संकेत पनि ट्रेलरले गरेको छ । यसले चलचित्रमा बाह्य द्वन्द्वसँगै पात्रभित्रको द्वन्द्वलाई समेत महत्व दिइएको देखाउछ ।

चलचित्रलाई कन्नड र अङ्ग्रेजी भाषामा एकसाथ छायांकन गरिएको छ । यसका साथै हिन्दी, तेलुगु, तमिल र मलयालम भाषामा समेत प्रदर्शन गरिने तयारी गरिएको छ । बहुभाषिक प्रदर्शनले चलचित्रलाई फराकिलो दर्शकसम्म पुर्‍याउने लक्ष्य देखाउछ ।

केभिएन प्रोडक्सन्स र मोन्स्टर माइन्ड क्रिएसन्सको निर्माणमा बनेको चलचित्र ‘टक्सिक : ए फेयरी टेल फर ग्रोन–अप्स’ अगस्ट २६ मा विश्वभरका चलचित्र हलमा प्रदर्शन हुने तय भएको छ ।

ट्रेलर

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै