काठमाडौँ । ब्राजिलको रियो दि जेनेरियोमा हेलिकोप्टर दुर्घटना हुँदा तीन महिलासहित चार जनाको मृत्यु भएको छ ।
अल्टो दा बोआ भिस्टाको भिस्टा चिनेसा क्षेत्रमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएपछि जंगलमा आगलागीसमेत भएको थियो ।
घटनास्थलमा पुगेको उद्धार टोलीले हेलिकोप्टरको भग्नावशेष फेला पारेको थियो । मृतकमध्ये हेलिकोप्टर चालक र कोलम्बियाका एकै परिवारका तीन महिला रहेको बताइएको छ ।
रियो दि जेनेरियोका नगर प्रमुखले घटनाप्रति दुःख व्यक्त गर्दै उडान सुरक्षामा निगरानी बढाउन नागरिक उड्डयन निकायसँग आग्रह गरेका छन् ।
रियोमा यसअघि जुन महिनामा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा छ जनाको मृत्यु भएको थियो । पछिल्लो दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।









