• २०८३ श्रावण २४ आइतबार

इजरायलद्वारा गाजासम्बन्धी ट्रम्पको शान्ति योजना अस्वीकार

इजरायलद्वारा गाजासम्बन्धी ट्रम्पको शान्ति योजना अस्वीकार

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजासम्बन्धी १५ बुँदे शान्ति योजनालाई अस्वीकार गर्दै हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने बताएका छन् ।

आइतबार मन्त्रिपरिषद्को बैठकमा नेतन्याहुले १५ बुँदे दस्तावेज इजरायललाई स्वीकार्य नभएको बताए । उनले हमास वास्तविक रूपमा निःशस्त्र नभएसम्म इजरायली सेना फिर्ता नहुने र आफ्ना सैनिक तथा नागरिकमाथिका खतरा रोक्न कारबाही जारी राख्ने बताए ।

गत महिना ट्रम्पको नेतृत्वमा रहेको शान्ति संयन्त्रले गाजामा हमास र अन्य सशस्त्र समूहलाई पूर्ण रूपमा निःशस्त्र बनाउने सहमति भएको जनाएको थियो । त्यसपछि ट्रम्पले यसलाई दीर्घकालीन शान्ति र सुरक्षातर्फको महत्वपूर्ण कदम भनेका थिए ।

तर हमासले इजरायलले गाजामा सबै प्रकारका सैन्य कारबाही रोक्नुपर्ने र आफ्ना सेना फिर्ता लैजानुपर्ने सर्तमा मात्रै भारी हतियार हस्तान्तरण गर्न सकिने बताउँदै आएको छ। इजरायलले गत अक्टोबरमा प्रारम्भिक युद्धविराममा सहमति जनाएपछि पनि गाजामा आक्रमण जारी राखेको छ ।

नेतन्याहुले हमासको निःशस्त्रीकरण केवल कागजी वा देखावटी हुन नहुने बताए । योजनाका विषयमा अमेरिकी अधिकारीसँग छलफल भइरहेको उल्लेख गर्दै उनले केही प्रस्ताव स्वीकार्य भए पनि केही विषयमा इजरायल सहमत हुन नसक्ने बताए ।

यसैबीच, इजरायलमा आगामी निर्वाचन नजिकिँदै गर्दा नेतन्याहुमाथि आफ्नै दक्षिणपन्थी सहयोगीबाट पनि दबाब बढेको छ । राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गभिरले ट्रम्पको प्रस्तावलाई अस्वीकार्य भन्दै नयाँ मन्त्रिपरिषद् मतदानमार्फत गाजा योजना अन्त्य गर्न माग गरेका छन् ।

ट्रम्पले गत वर्ष सेप्टेम्बरमा सार्वजनिक गरेको योजनामा शान्ति सम्झौताको कार्यान्वयनको निगरानी गर्न शान्ति परिषद् गठन, हमासको निःशस्त्रीकरण, इजरायली सेना फिर्ता र गाजाको पुनर्निर्माणलगायत विषय समेटिएका थिए। पछिल्लो विवादले ट्रम्पको गाजा शान्ति योजनामा थप चुनौती देखिएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै